काठमाडौंमै १५ प्रतिशत बालबालिकाले पाउँदैनन् पोलियो खोप

473

काठमाडौं– बाल मृत्युदर बढ्न थालेपछि सन् १९८८ मा विश्वमा पोलियो उन्मूलनको लागि अभियानहरु संचालन भयो ।

नेपालमा सन् १९९६ मा राष्ट्रिय पोलियो खोप अभियान सुरु गरियो । अभियान संचालन भएपनि सन् २००१ देखि २००४ सम्ममा नेपालमा पोलियोका विरामी नदेखिएको बाल स्वास्थ्य महाशाखाको तथ्याङ्क छ । तर सन् २००५ देखि २००८ सम्ममा पोलियोका विरामी फेरी देखिएको थियो ।

सन् १९९९ देखि २०१० सम्ममा ३२ जना बालबालिका पोलियोका विरामी रहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपाल सरकार र गैह्र सरकारी संस्थाको पहलमा पोलियो रोग विरुद्ध विभिन्न अभियान संचालन भएपछि सन् २०१० देखि हाल सम्म नेपालमा पोलियोको विरामी नरहेको बाल स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद घिमिरेले बताए ।

उनले लोकान्तरसंग भने, ‘नेपालमा सन् २०१० देखि पोलियो रोगको शुन्य अवस्था छ । सन् २०१४ मा नै नेपाल पोलियो शून्य प्रमाणीकरण भइसकेको छ ।’

वि.स.२०६८ सालको जनगणना अनुसार नेपालमा वार्षिक रुपमा ६ लाख २३ हजार शिशू जन्मने गर्छन् । प्रतिवर्ष ८६ प्रतिशत बालबालिकाले नियमित पोलियो विरुद्धको खोप सेवन गरेको घिमिरेको भनाइ छ ।

सन् १९९६ मा पाँच वर्ष मुनिका प्रतिहजार बाल मृत्युदर एक सय १८ रहेकोमा २०१६ मा ५४ जना रहेका छन् । पोलियो खोप अभियानले बाल मृत्युदरमा पनि कमी आएको उनले बताए ।

नेपालमा पोलियो खोप अभियानमा नेपाल सरकारलाई विश्व स्वास्थ्य संगठन, यूनिसेफ, रोटरी, गाभी लगायतका अन्तराष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन् ।

यस वर्ष पनि मंगलबार विश्व पोलियो दिवस मनाइएको छ । दिवसको अवसरमा नियमित खोप अभियानमा २ थोपा पोलियो खुवाइ रोगलाई पर्किन नदिउँ भन्ने नाराका साथ देशका विभिन्न्न जिल्लाहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन भएको छ ।

पोलियो रोग शुन्य अवस्था मात्रै उन्मुलन भइसकेको छैन

नेपालमा पोलियो रोगको अवस्था शुन्य देखिए पनि यसको उन्मुलन भने नभएको नेपाल नेशनल पोलियो प्लस कमिटीका सदस्य सचिव डा. बद्रिराज पाण्डेले बताए । उनले लोकान्तरलाई भने, ‘नेपालमा पोलियो रोगको अवस्था मात्रै शुन्य हो यसको उन्मुलन भइसकेको छैन । त्यसैले पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो विरुद्धको खोप दिनु आवश्यक छ ।’

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा नेपाल लगायत त्यसमा आवद्ध देशहरुलाई पोलियो उन्मुलन राष्ट्र बनाउने लक्ष्य लिएको उनको भनाई छ ।

काठमाडौंमै १५ प्रतिशत बालबालिका पोलियो खोपबाट वन्चित

नेशनल पोलियो कमिटका सदस्य सचिव पाण्डेले काठमाडौं मै १५ प्रतिशत बालबालिका अझै पनि पोलियो खोपबाट वञ्चित रहेको दावी गरे ।

काठमाडौंमा रहेका बालबालिका मध्य १५ प्रतिशत बालबालिकाले पोलियो खोप खान पाएका छैनन् । ‘पोलियो रोग नेपालमा छैन भन्ने धारणाले अभिभावकहरुले बच्चाहरुलाई पोलियो नखुवाउने गरेका छन्,’ उनले भने, ‘सन् २०१४ पछि नेपालमा पोलियो रोग छैन भन्ने सन्देश मानिसहरुमा पुग्यो । त्यसपछि काठमाडौंकै शिक्षित मानिसहरुमा पोलियो रोग सकियो किन खुवाउनु प¥यो भन्ने सोचले अभिभावकहरुले बच्चालाई पोलियो खुवाउन छाडेका छन् ।’

यस्तै देशभरमा पनि १० प्रतिशत बालबालिका विभिन्न कारणले पोलियो खोप पाउनबाट वन्चित छन् ।
पोलियो रोग विरुद्धको खोप नखाएका बालबालिकामा पोलियो देखिन सक्ने उनले बताए । नेपालमा पोलियो उन्मुलन नभइसकेकोले पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियो खुवाउन उनको सुझाव छ ।

सन् २०१० अघिका पोलियो रोगीको अवस्था के छ ?

सन् १९९९ देखि २०१० सम्ममा ३२ जना बालबालिकामा पोलियो विरामी रहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

विभिन्न संघसस्थाले पोलियो रोग लाग्नै नदिन अभियानहरु चलाए पनि पालियो भइसकेकाहरुको अवस्थामा भने
कुनै चासो दिएका छैनन् । डा.पाण्डेका अनुसार पोलियो भइसकेपछि उपचार नहुने भएकाले पोलियो लागेका बच्चाहरुमा जीवनभर अपाङ्गता वा प्यारलाइसिसको समस्या देखिन्छ ।

पोलियोका विरामीको उपचार नहुने भएकाले उनीहरुलाई जीवनयापनमा समस्या त हुन्छ ।
सन् २०१० अगाडी पोलियो रोगबाट संक्रमित विरामीको हालको अवस्थाको विषयमा सरकार अनविज्ञ छ ।