सर्वोच्चको आदेशले मतपत्र छपाइ रोकियो

1302

काठमाडौं – निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना स्थगन गरेको छ ।

शुक्रबार (आज) बाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजनामा रहेको आयोगले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि स्थगन गरेको हो । आयोगले औपचारिक प्रतिक्रियामा भने समानुपातिकतर्फको मतपत्र छाप्ने कार्य नसकिएका कारण प्रत्यक्षतर्फको छपाइ केही दिन पर सरेको जनाएको छ, राजधानी दैनिकमा खबर छ ।
आयोगले ८ कात्तिकसम्म समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ सकेर १० कात्तिक (आज) बाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने बताएको थियो । सर्वोच्च अदालतले अपहेलनासम्बन्धी एउटा रिटको आदेशमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने आशय व्यक्त गरेपछि आयोगले आन्तरिक परामर्शपछि मात्र छपाइ थाल्ने भएको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले भने आयोगको कार्यतालिका अनुसार १० गतेबाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्यतालिका रहेको भए पनि केही लम्बिने बताए ।