काठमाडौंँ, कात्तिक १२ गते । “गुरुजी, विस्तारै जाऊ न के हतार छ र ? सबैजना काठमाडौँमा नै पुग्ने हो,” अधिवक्ता दुर्गानन्द चौधरीले बस चालकलाई विस्तारै चलाउन आग्रह गर्दा चालकको जवाफ थियो, “बिहान नागढुङ्गाको जाम जसरी पनि छल्नुपर्छ । ” आखिर यो जवाफ दुखद दुर्घटना निम्त्याउन पर्याप्त भएजस्तो भयो ।
धादिङको गजुरीस्थित बाङ्गेमोडमा शनिबार बिहान भएको ना. ६ ख १४६७ नम्बरको बस दुर्घटनामा बाँच्न सफल सप्तरी सुरुङ्गा–११ निवासी अधिवक्ता चौधरी र उहाँका सुपुत्र अभिषेक चौधरी बस चालक नजिकै क्याबिनमा बसेर यात्रा गरिरहेका थिए । दुर्घटनमा ३१ जनाको ज्यान गयो भने कम्तीमा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनभयो । बसमा कति जना थिए भन्ने एकीन छैन । राजधानी फर्कने चाप बढेका कारण कम्तीमा ५० जना बसमा सवार भएको अनुमान छ । अझै कति जना नदीमा बेपत्ता छन् भन्ने पनि एकीन नभएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाबारे जान्न चौधरी बाबुछोराका भनाइले धेरै कुरा बताउँछ । बिहान करिब साढे ५ बजे बस त्रिशूली नदीमा खस्दा पिता दुर्गानन्द मस्त निद्रामा र छोरा अभिषेक जागा नै थिए । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका अधिवक्ता चौधरीले भन्नुभयो, “बस दुर्घटना भएर एक्कासि नदीमा खसेपछि मात्र म ब्यूँझेको हुँ । ”
उहाँका अनुसार यात्रु मस्त निद्रामा भएको समयमा बस सडकबाट एक्कासि नदीमा खसेको थियो । बुबा–छोरा अगाडि बस्नुका साथै सिसा फुटेकाले आफूहरू बाँच्न सफल भएको भनाइ उहाँको छ । अभिषेक चौधरी (१९ वर्ष)ले आफू नसुतेकाले पनि नदीबाट पौडेर बाँच्न सफल भएको बताउनुभयो ।
सप्तरीको राजविराजबाट यात्रु बोकेर आएको बसको हेटौँडा बजार नजिकै चक्काको पाता भाँचिएपछि काठमाडौंँबाट रित्तो गइरहेको त्यस बसमा यात्रु राखेर काठमाडौँ फर्किएको थियो । युनाइटेड एकेडेमी ललितपुरमा कक्षा १२ मा अध्ययरत अभिषेकको आरोप छ, “दुर्घटनाको मुख्य दोषी चालक नै हो । ”
रात्रि बस तीव्र गतिमा चलाएपछि अधिवक्ता चौधरीलगायतका यात्रुले नारायणघाट बजार क्षेत्रमा नै चालकलाई विस्तार चलाउन आग्रह गरेका थिए । घाइते अभिषेकले भन्नुभयो, “ओभरटेक गर्ने क्रममा होइन, गति तीव्र भएकाले बस दुर्घटनामा परेको हो । ”
त्यस दुर्घटना परी मर्नेहरूको सङ्ख्या शनिबार बेलुकासम्म ३१ पुगेको छ र तीमध्ये २९ को सनाखत भएको छ । मृत्यु हुनेमा ११ पुरुष, १० महिला र १० बालबालिका छन् । सनाखत भएकाहरूमध्ये ११ पुरुष, आठ महिला, पाँच बालक, पाँच बालिका छन् । मृतकमध्ये २९ जनाको सनाखत भएको छ । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकालिएको छ ।
दुर्घटनामा परी घाइते भएका यात्रुका अनुसार बसमा करिब ५० भन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । घाइतेको स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेको छ । चितवन कुरिनटारबाट आएका गोताखोर टोलीले नदीमा बपेत्ताहरूको खोजी गरिरहेको छ ।
बस त्रिशूली नदीमा डुबेकाले अधिकांशको शव गोताखोरहरूले निकालेका थिए । बस निकै गहिरो ठाउँमा डुबेकाले १९ वटा शव निकालेपछि बस क्रेनको सहायताले माथि तानेर बसभित्रको शव निकालिएको थियो ।
परिवारमा यादव एक्लो
काठमाडौँस्थित ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक दुर्गानन्द यादव राजविराजबाट श्रीमती, एक छोरा, एक छोरी र एक भतिजी लिएर काठमाडाँै आउँदा दुखद घटना भएपछि उहाँ विक्षिप्त जस्तै बन्नुभएको छ । परिवारका सबै सदस्य गुमाएर आफू बाँचेकोमा उहाँमा पश्चाताप छ ।
टाउकोमा सामान्य चोट लागे पनि उहाँ उपचारका लागि काठमाडौँ जान मानिरहनुभएको थिएन । परिवारैै गुमाएपछि आफू कसरी बाँच्ने उहाँ प्रश्न गरिरहनुभएको थियो । यादव जस्तै बाङ्गेमोड दुर्घटनामा परिवार गुमाउनेहरूको सङ्ख्या निकै छ ।
सोही बसमा यात्रा गरिरहेका विहार राजनगरका मनोज ठाकुरका पाँच जनामा उहाँ मात्र बच्न सफल हुनुभयो । श्रीमती, छोरा, छोरी सबै गुमाएका मनोज पनि आफू जीवित भएकामा खुशी देखिनुहुन्न ।
तीव्र गतिले क्षति ः घाइते
दुर्घटनामा परी जीवित रहेकाहरूले चालकको लापरवाहीले गर्दा दुर्घटना भएको बताउनुभएको छ । हेटाँैडामा सप्तरीबाट आएको गाडी साटेर अर्को बसमा हालेपछि नै निकै तीव्र गतिमा बस चलाएको नदीमा पौडिएर बाँचेका मनोज ठाकुरले बताउनुभयो ।
तीव्र गतिका कारण पछाडि सिटमा रहनुभएका यात्रुहरूको माथि टाउको ठोक्किने, सिटबाट दायाँबायाँ सर्ने काम भएको ठाकुरको भनाइ छ । गाडीको तीव्र गतिबाट डराएका केही यात्रुहरूले कम गतिमा चलाउन अनुरोध गरेको सन्तोष सरदारले बताउनुभयो ।
चालकको लापरवाहीले आफूहरूले परिवार गुमाउन परेको दुखेसो दुर्गानन्द यादवले पोख्नुभएको छ । प्रहरीले पनि चालकको लापरवाही नै दुर्घटनाको मुख्य कारण हुनसक्ने बताएको छ । अत्यधिक गतिका कारण दुर्घटना हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान पनि रहेको छ ।
पौडिएर १६ जना बाँचे
बाङ्गेमोड दुर्घटनामा १६ यात्रु नदीमा पौडेर बाँचेका छन् । बस पृथ्वी राजमार्गबाट सीधै त्रिशूली नदीमा खसेर डुबेपछि झ्याल, ढोका र अगाडिको भागबाट निस्किएर १६ जना यात्रु नदीमा पौडिएर बाँचेका छन् ।
बसमा रहनुभएका गौरीशङ्कर शर्माले बस खसेको सबै थाहा पाउनुभयो, आफूसँगै रहेको १० वर्षको भाइ गणेश शर्मालाई काखीमा च्यापेर अर्को हातले बसको झ्यालको सिसा फोरेर नदीमा पौडिँदै किनारमा आउनुभयो ।
त्यतिखेर अचेत रहनुभएका गणेश पनि अहिले सकुशल हुनुहुन्छ । गौरीशङ्कर जस्तै बसमा रहेर बाँच्नुभएकाले त्रिशूली नदीमा पौडिएर बाँच्न सफल भएको बताउनुभएको छ । दुर्घटनामा परी भएका घाइतेमध्ये दुई जनालाई मात्र उपचारका लागि काठमाडाँै पठाइएको छ । बाँकीको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनाको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । बसका सहचालकको घटनास्थलमै मृत्यु भए पनि चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
राजविराजबाट शुक्रबार साँझ ६ः३० बजे छुटेको ना.६ ख १४६६ नम्बरको सन्देश ट्राभल्स रात्रिबसले राजविराजामा १५ र बाटोमा २४ जना यात्रु चढाएको थियो । सो बस बिहान २ बजेतिर हेटौँडा पुग्नै लाग्दा अचानक बसको पट्टा भाँचिएपछि बा.६ ख १४६७ नम्बरको अर्को बसमा यात्रु राखेर काठमाडौँ पठाइएको थियो ।
ना.६ ख १४६६ नम्बरको अघिल्लो बसका चालकका अनुसार बस मालिक सुशील मुखियाको निर्देशनअनुसार यात्रुलाई एउटा बसबाट अर्को बसमा सारिएको हो ।
मालिक मुखियाले नै काठमाडौँबाट राजविराजका लागि छुटेको आफ्नै कम्पनीको हेटौँडा पुग्नै लागेको जानकारी गराउँदै सोही गाडीमा सबै यात्रु हाल्ने आदेश दिनुभयो । बिहान २ बजेर १० मिनेटतिर हेटौँडा आइपुगेको सो बस ३९ जना यात्रु बोकेर काठमाडौंँका लागि छुटेको थियो । केही यात्रुहरू सो बसमा पहिला नै चढिसकेका देखिन्थ्यो ।
बोरिया गाउँ शोकमा
बोरियाका एकै परिवारका आठ जनाको दुर्घटनामा मृत्यु भएको छ । राजविराज नगरपालिका–१६ को बोरिया गाउँ शनिबार खबर थाहा पाएपछि शोकमग्न भएको छ । स्थानीय मदन झाको घरमा रुवावासी छ । राजविराजबाट छुटेको बस त्रिशूली नदीमा खसेको समाचारले जिल्लाभर नै शोक छाएको छ ।
जिल्लाका अन्य स्थानका छ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर सुन्नेबित्तिकै झाको घरमा आफन्त र शुभचिन्तकको भीड लागेको छ । दुर्घटनामा परी मदन झाकी भाउजू ७० वर्षीया चन्द्रावती झा, २२ वर्र्षीय छोरा आदित्य झा, २० वर्षीया छोरी पूजा, २८ वर्षीया छोरी सिम्मी, ३० वर्षीया ज्वाइँ सञ्जित झा, ज्वाइँका २६ वर्षीय भाइ अञ्जित झा, एक वर्षीय नाति अभिनव र ३ वर्षीय नाति प्रतीक गरी आठ जनाको ज्यान गएको छ ।
बिहानैदेखि स्थानीय आफन्तको खबर बुझ्न दिवा तथा रात्रिबस बुकिङ व्यवस्था समितिको कार्यालय र प्रहरीमा दौडधुप थालेका थिए । केहीबेरमै त्रिशूली नदीबाट शव निकाल्ने काम भइरहेको र हालसम्म ३१ जनाको शव निकालिसकिएको खबरले शोक बढायो । सप्तरीका मात्र २० जना परेको खबर आएपछि जिल्ला नै शोकमा डुब्यो ।
काठमाडौँ घुमाउने सपना अधुरो
आफन्तलाई काठमाडौँ घुमाउने सञ्जिता झाको सपन अधुरो नै रह्यो । काठमाडौँको चाबहिलस्थित नेपाल बैङ्क लि. शाखामा ऋण शाखाका प्रमुखको पदमा कार्यरत ज्वाइँ सञ्जितले छठ पूजा सकेपछि सबैलाई काठमाडाँै घुमाउन लैजाने भनेपछि आपैmँले सन्देश बसको टिकट काटेर गाडीमा चढाई बिदाइ गरेको पीडित मदन झाले सुनाउनुभयो । श्क्रबार साँझसम्म सँगै रहेकाहरूको एक्कासि मृत्युको खबरले संसारै हराएको जस्तो लागेको झाले रुँदै बताउनुभयो ।
सनाखत हुनेहरू नामावलीसहित
१. सप्तरी तिलाठी–३ का ३५ वर्षीय सिमीकुमारी झा
२. सिराहा नपा–८ गोलबजारका ५० वर्षीय रामकुमार यादव
३. सप्तरी देउरीमरुवा नपा–१५ का १८ जर्षीय नरेश मुखिया
४. सप्तरी बोधेवरसाई नपा–३ का १५ वर्षीय चन्दरेखा प्रमाणी
५. सप्तरी राजविराज नपा–१६ का ७४ वर्षीय चन्द्रावती झा
६. सप्तरी तिलाठी गाउँपालिका–१ का ३३ वर्षीय अञ्जितकुमार झा
७. सप्तरी नेरेयाका २५ वर्षीय पार्वती चौधरी
८. सप्तरी बोधेवरसाई नपा–२ का ६ वर्षीय आदित्य यादव
९. सप्तरी तिलाठी–३ का ३८ वर्षीय सञ्जितकुमार झा
१०. सप्तरी नेरेयाका ३ वर्षीय सुशान चौधरी
११. सप्तरी नेरेया गाउँपालिका–३ का २४ वर्षीय रमानन्द यादव
१२. भारतको मधुवनी विहार निवासी २९ वर्षीय ममतादेवी ठाकुर
१३. बोधेबसाइन–३ बस्ने वर्ष १५ की चित्रलेखा प्रमानी
१४. सप्तरी महादेवा–९ बस्ने २७ वर्षीय प्रमोद ईसार
१५. सप्तरी कृषसरोवन–४ का २९ वर्षीय सुधीरकुमार यादव
१६. भारत विहार मधुवनीका १२ वर्षीय मनिष ठाकुर
१७. सिरहा नराह गा.पा. १ बस्ने ३० वर्षीय उदय मण्डल
१८. सप्तरी बोधेबरसाई–२ का २५ वर्षीय आशिकीकुमारी यादव
१९. सप्तरी कृषसरोवन–४ का ५ वर्षीय समीक्षा यादव
२०. सिरहा लहान नपा–६ बस्ने ३७ वर्षीय प्रभा चौधरी
२१. सप्तरी राजविराज–१३ का ३० वर्षीय ऋषि आनन्द देव
२२. सप्तरी राजविराज–१४ का २० वर्षीय आदित्य झा
२३. सप्तरी बोधेबरसाइन–२ का १३ वर्षीय समीक्षाकुमारी यादव
२४. सप्तरी शम्भुनाथ नपा–५ का सुदीप चौधरी
२५. सप्तरी बोधेबरसाइन ३ का ९ वर्षीय चित्ररेखा बरमाणी
२६. सप्तरी बोधेबरसाइन ३ का १ वर्षीय मानवी यादव
२७. सप्तरी बोधेबरसाइन–२ का ३५ वर्षीय सुरेन्द्र चौधरी
२८. सप्तरी बोधेबरसाइन–२ का ११ वर्षीय चित्ररेखा प्रमाणी
२९. सप्तरी राजविराज–२ का ६ वर्र्षीय पशुपति चौधरी








































