शिक्षकद्वारा आयोगको विज्ञापन बदर माग

324

भक्तपुर । शिक्षकहरुले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापन बदर गर्न माग गरेका छन् । कार्तिक २१ गते प्रकाशित सो विज्ञापन विभेदकारी भएको भन्दै छुट अस्थायी करार शिक्षक संघर्ष समितिले सो माग गरेको हो ।

समितिले बुधबार सेवा आयोगका अध्यक्ष ताना गौतमलाई ज्ञापनपत्र बुझाउँदै चार बुंदे माग समेत गरेको छ ।

उनीहरुले गरेको मागहरुमा ‘२०७२ असोज २ गतेपछिका छुट अस्थायी करार शिक्षकहरुलाई मौलिक हकको धारा “१८”को उपधारा “१” र धारा “३३”को उपधारा “१” बमोजिम भेदभावरहित रोजगारीका लागी समान विज्ञापनमा समावेश गर्न खोलिएको यो विज्ञापन बदर गर्न तुरुन्त रोक्नुपर्ने’, ‘कोही शिक्षकहरुलाई आन्तरिक परीक्षामा सामेल भएर अनुत्तिर्ण भएर पनि गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्ने तर २०७२ असोज २ गते पछिका शिक्षक पनि सोहि प्रकृयाबाट नियूक्त भएपनि आन्तरिक प्रतिस्पर्धाबाट बञ्चित गरिएकोले २०७२ असोज २ गते पछि २०७४ कार्तिक ६ गतेसम्मका करिव १२ हजार सम्पूर्ण छुट अस्थायी करार शिक्षकहरुलाई तथा विस्थापित शिक्षकहरुलाई आन्तरिक दिन पाएका करार शिक्षक सरहको हैसियतमा राखी आन्तरिक प्रतिस्पर्धामा समावेश गराउनुपर्ने’, ‘एउटै प्रकृयाबाट नियुक्ति भएका शिक्षकहरुलाई समानता र भविष्यमा शिक्षक बन्न चाहने (लाईसेन्सधारी)कोे न्यायको लागी २०४९ देखी हालसम्मलाई सर्वसहमतिबाट उपयूक्त तरिकाले निश्चित प्रतिशत निर्धारण गरी आन्तरिक र खुल्ला विज्ञापनको व्यवस्था गर्नुपर्ने’ वुंदाहरु रहेका छन् ।

‘०७२ असोज २  सम्म नियूक्तलाई मात्र आन्तरिकमा समावेश गरी आन्तरिकको कोटा ४९ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउदाँ पनि बाह्र हजार  शिक्षकलाई छुटाएकोले छुट अस्थायी करार  शिक्षकलाई अन्याय भएको छ ।’ छुट अस्थायी करार शिक्षक संघर्ष समितिका अध्यक्ष भरत केसीले भने ।  उनले सो व्यवस्था खारेज गर्न अनुरोधसमेत गरे ।

उनीहरुले आफ्ना माग संम्बोधन नगरे आन्दोलन समे गर्ने  चेतावनी दिएका छन् ।

उनीहरुले आन्दोलनअन्तर्गत जिल्ला शिक्षा कार्यालय र स्रोत केन्द्रहरुमा धर्ना तथा विरोध कार्यक्रम गर्ने, चुनाबको प्रचारमा गएका राजनैतिक दलका नेताहरुलाई खवरदारी सहित ज्ञापनपत्र दिने, विद्यालयहरुमा पठनपाठन ठप्प पार्ने, शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग लगायत सम्वन्धित क्षेत्रमा धर्नाका साथै आमरण अनसनसमेत बस्ने जनाएको छ ।