ट्रम्पले उत्तर कोरियालाई आतंकवाद समर्थक राज्यको सूचीमा राखे

272

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई अमेरिकाले फेरि आतंकवादलाई समर्थन गर्ने राज्यको सूचीमा राखेको घोषणा गरेका छन् । नौ वर्षअघि उत्तरलाई यस सूचीबाट हटाइएको भएपनि फेरि राखिएको हो ।

मन्त्रिपरिषद्को बैठकमा उनले यो घोषणापछि उत्तरविरुद्ध मंगलवार थप कडा प्रतिबन्ध लगाइने बताए ।

तर विदेशमन्त्री रेक्स टिलरसनले पछि चाहिँ ‘यो घोषणाको व्यावहारिक असर सीमित मात्र हुनसक्ने’ बताए ।

उत्तरले आणविक कार्यक्रम जारी राख्दै अन्तर्राष्ट्रिय आतंकवादी क्रियाकलापको समर्थन गरेको आरोप ट्रम्पले लगाए ।

ह्वाइट हाउसबाट यो निर्णयको घोषणा गर्दै अमेरिकी राष्ट्रपतिले ‘यो काम धेरै अघि नै गरिसक्नुपर्ने थियो’ भने ।

अमेरिकी विद्यार्थी ओट्टो वार्मबीयरको उत्तर कोरियाको हिरासतबाट निस्केको केही समयमै मृत्यु भएपछि उत्तरलाई आतंकवाद समर्थक राष्ट्र घोषणा गर्न दबाब पर्दै आएको थियो ।

यस घोषणापछि अमेरिका र उत्तर कोरियाबीचको वार्ताको सम्भावना लगभग सकिएको छ ।

जापान र दक्षिण कोरियाले अमेरिकाको घोषणाको स्वागत गरेका छन् ।

बीबीसीबाट