Home निर्वाचन हनुमानघाट स्थित भगवान बुद्धको ठूलो मूर्तिको जीर्णोद्वार सम्पन्न
भक्तपुर । भक्तपुर बौद्ध सम्पदा संघको आयोजनामा २०७२ बैशाख १२ र १३ गते भुकम्पले क्षतिग्रस्त बनाएको भक्तपुर वडा नं.७ मा रहेको प्रसिद्ध तीर्थस्थल हनुमानघाट परिसर खुसी विहारमा रहेको भगवान बुद्धको ठूलो मूर्तिको जीर्णोद्वार सम्पन्न भएको छ ।
भक्तपुर बौद्ध सम्पदा संघको भुकम्पले क्षतिग्रस्त बौद्ध सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्ने कार्य योजना अन्तर्गत पुनः निर्माण गरिएको यो जीर्णोद्वार कार्य २०७४ भाद्र ८ गते देखि काम प्रारम्भ भएको उक्त मूर्तिको जीर्णोद्वारका लागि मुनि विहार, इनाचो, मूर्ति स्थापनाका इनाचो, वाँचुत्वाःका दाताहरु नकर्मी परिवारका स्व.रामशेखर नकर्मी र अन्य नकर्मी परिवार, इन्द्रवर्त महाविहार, इनाचो एवं स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको थियो ।
२०७२ को भुकम्पमा द्यद्यऋ जस्तो अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्रमुख पृष्ठमा प्रकाशित उक्त बुद्ध मूर्तिको जीर्णोद्वारका लागि करीव १,३०,३६०÷– लागत खर्च भएको छ । उक्त जीर्णोद्वार कार्यमा परम्परागत निर्माण सामग्री बज्रको प्रयोग गरी पुरानो शैलीमा बुट्टेदार इँटाको प्रयोग गरिएको कुरा संघका उपाध्यक्ष सुगत रत्न बज्राचार्य र सल्लाहकार पद्म सुन्दर शाक्यले जानकारी दिनु भयो ।
संघले भुकम्पको लगतै २०७२ फाल्गुणमा नै पुनः निर्माणको लागि नगरपालिका र दरवार हेरचाह अड्डालाई सहयोगको अपेक्षाका लागि आग्रह गरेता पनि समयमा सहयोग प्राप्त हुन नसकेकोले मूर्तिका दाता परिवार, मुनि विहारका श्रद्धेय विपस्सी भन्ते र स्थानीय जनता संग सहयोग संकलन गर्न र दक्ष प्राविधिकको अभावले पुनः निर्माण कार्य ढीलो हुन गएको जनाइएको छ ।
भगवान बुद्धको ठूलो मूर्ति रहेको उक्त क्षेत्रमा रहेको भगवान बुद्ध, प्रज्ञा पारमिताको मूर्ति रहेको मन्दिरहरु, महाँकालको मूर्ति, ४ वटा चैत्य, मण्डला पनि जीर्ण अवस्थामा रहेको हुँदा यी सम्पदाहरुको संरक्षणका लागि पनि संघले सबै सहयोग र सद्भावका लागि सबैमा हार्दिक अनुरोध गरेको छ ।
संघले बुद्ध मूर्तिको पुनःनिर्माणमा सहयोग गर्ने दाताहरु मुनि विहार, इन्द्रवर्त महाविहार, नकर्मी परिवार, स्थानीय जनसमुदाय, हनुमानघाट परिवार, वालसेवक नि.मा.वि. लगायत सबैलाई सम्पदा संरक्षण गर्ने कार्यमा हौसला र सद्भाव दिनु भएकोमा साधुवाद प्रदान गर्दछ ।
हिन्दु र बौद्ध धर्मको साझा तीर्थस्थल रहेको हनुमानघाट परिसरमा हाल भजन घर, मठ मन्दिरको पुनः निर्माण भईरहेको छ ।
भक्तपुर बौद्ध सम्पदा संघले बौद्ध सम्पदाहरुको संरक्षण गर्न विभिन्न समयमा गरेका अनुरोधलाई सहयोग पुग्ने गरी मैत्रेय युवा संघ, भक्तपुरले भक्तपुर वडा नं.१, इताछेँ भक्तपुर मिनिवसपार्क, बौद्ध समकृत विहार अगाडि महाँकाल मन्दिरमा रहेको ठूलो बौद्ध चैत्यको जीर्णोद्वार कार्य सम्पन्न गरेको छ ।
त्यस्तै भक्तपुर थालाछेँ स्थित जीर्ण हाकु चिभाःहरुमा जर्मन नागरिक हेनरिक मायरको सहयोगमा ३ वटा चैत्यहरुमा चैत्यको माथिल्लो भाग त्रयोदश भुवन पुनःस्थापना गरी मर्मत कार्य तथा हनुमानघाट परिसरमा रहेको प्रज्ञापारमिता मन्दिरको पनि जीर्र्णोद्वार सम्पन्न भएकोमा भक्तपुर बौद्ध सम्पदा संघ वहाँहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछ ।
Related