नेपाली कांग्रेस र वाम गठबन्धनका युवाबिच झडप, ६ जना घाइते

290

नवलपरासी – नवलपरासीको बर्दघाट सुस्ता पूर्व मध्यविन्दु नगरपालिका–६ बरूवामा मंगलबार राति वाम गठबन्धन र नेपाली कांग्रेसका युवाबिच झडप भएको छ । झडपमा दुवै तर्फका गरी ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली कांग्रेस मध्यबिन्दु नगर सभापति दोमनबहादुर भण्डारी, नुमाकान्त भण्डारी, अरूण भण्डारी र नेकपा एमाले मध्यबिन्दु नगर कमिटी उपाध्यक्ष दुर्गा भुर्तेल, घनश्याम पौडेल, विजय भुर्तेल लगायतका युवा रहेकोे जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

घाइतेमध्ये एमाले मध्यविन्दु नगर कमिटी उपाध्यक्ष दुर्गा भुर्तेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य सबैको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

चुनावी प्रचार अभियान सकेर घर फर्कदै गरेका वाम गठबन्धनका कार्यकर्तामाथि आक्रमण भएको वाम गठबन्धनको भनाई छ । कांग्रेस कार्यकर्ताले पनि एमालेका युवाहरुले पहिला निहु निकालेको आरोप लगाएका छन् । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।