भक्तपुर । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षण गर्ने पर्यवेक्षकहरुको लागि नेपाल मानव अधिकार संगठन भक्तपुर जिल्ला शाखाले शनिबार अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रमका अतिथिहरुले निर्वाचन महँगो भएसँगै राजनीतिमा नैतिकता र मर्यादा गुम्दै आएकोतर्फ चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले निर्वाचन आचारसंहिता पालनासँगै स्वतन्त्र, निष्पक्ष र भय एवं धाँधलीरहित चुनावको लागि निष्पक्ष र स्वतन्त्रतापूर्वक निर्वाचन पर्यवेक्षण अनिवार्य रहेको जोड दिए ।
कार्यक्रम उद्घाटन गर्दै भक्तपुर निर्वाचन क्षेत्र नं २ का अधिकृत उत्तम सिलवालले भक्तपुरमा मंसिर २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
उनले स्वतन्त्र, निष्पक्ष, भय एवं धाँधलीरहित निर्वाचन सञ्चालन गर्न निष्पक्ष एवं स्वतन्त्र रुपमा यसको पर्यवेक्षण हुनु आवश्यक रहेको बताए ।
नेपाल मानव अधिकार संगठनका केन्द्रीय महासचिव महामुनिश्वर आचार्यले पद, पैसा र बाहुबलीले चुनाव जित्ने भारतको बिहारी शैली नेपालमा पनि भित्रिएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाल मानव अधिकार संगठनका पूर्वमहासचिव योगेन्द्रमान बिजुक्छे, संगठनको भक्तपुरका पूर्वसभापति विश्वमोहन जोशी, भक्तपुर सभापति रामकृष्ण मानन्धरले देशमा प्रजातन्त्र स्थापनापछि भएका सम्पूर्ण निर्वाचनको संगठनले स्वतन्त्र र निष्पक्ष रुपमा पर्यवेक्षण गर्दै आएको धारणा राखे ।
निर्वाचनको क्रममा खटिने करिब ३० जना भक्तपुरका निर्वाचन पर्यवेक्षकहरु सहभागी अभिमुखीकरणमा संगठनका उपाध्यक्ष डा. गोविन्द ढकालले निर्वाचन पूर्व र पछि गरिने रिपोर्टिङ तथा प्रतिवेदन लेखन विधि, अधिवक्ताद्वय कल्याण पोखरेल र हरिराम लवजूले क्रमशः निर्वाचन आचारसंहिता र निर्वाचन पर्यवेक्षण विधि र प्रक्रियाका बारे प्रस्तुतीकरण गरेका थिए ।