काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ मुलुकका क्यान्सर विशेषज्ञहरुको छाता संगठन सार्क फेडरेशन अफ अंकोलोजिष्ट (एसएफओ) को १२ औं विशेषज्ञ सम्मलेन श्रीलंकाको राजधानी कोलोम्बोमा सम्पन्न भयो ।
सम्मेलनमा सहभागी रहेका सार्क फेडरेशन अफ अंकोलोजिष्ट (एसएफओ) का संस्थापक अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.मदनकुमार पियाका अनुसार सम्मेलनले भुटानकी वरिष्ठ क्यान्सर विशेषज्ञ डा. उगेन छोमोलाई एसअफओकी निर्वतमान अध्यक्ष श्रीलंकाकी वरिष्ठ क्यान्सर विशेषज्ञ डा.दमयन्थी पेइरीसले एसएफओको झण्डा हस्तान्तरण गरीन ।
डा.पेइरीस श्रीलंका कलेज अफ अंकोलोजिष्टकी पनि अध्यक्ष हुन ।
सार्क सदस्य मुलुकमा क्यान्सरको निदान, रोगको पहिचान, क्यान्सरको उपचारमा एकरुपता तथा विरामीलाई औषधि उपचारमा सहुलियत दिने र सदस्य मुलुकका विशेषज्ञहरुको ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्धेश्यले नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा.पियाको अध्यक्षतामा सन् २०००मा सार्क फेडरेशन अफ अंकोलोजिष्ट गठन गरिएको थियो ।
सार्क फेडरेशन अफ अंकोलोजिष्ट (एसएफओ) को १३ औं सम्मेलन आगामी वर्ष भुटानको राधानी थिम्पुमा आयोजना गरिने पनि संस्थापक अध्यक्ष डा.पियाले बताएका छन् ।
सार्क फेडरेशन अफ अंकोलोजिष्ट (एसएफओ) को १२ औं विशेषज्ञ सम्मलेनमा नेपालको तर्फबाट संस्थापक अध्यक्ष डा.पियाको साथै वरिष्ठ क्यान्सर विशेषज्ञहरु डा.राजेन्द्रप्रसाद बराल, डा.सुदिप श्रेष्ठ तथा डा. गिसुपनिख प्रसिको सहभागी थिए ।