भक्तपुर- भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) को दुईवटा समिति गठन हुने सम्भावना बढेको छ ।
नेशनल प्याब्सन (एनप्याब्सन) जिल्ला कार्य समितिभित्रैका पदाधिकारीहरुबीच आपसी मतभेदको कारण एउटै जिल्लामा दुई समिति बन्ने सम्भावना बढेको हो ।
गत कार्तिकमा चितवनमा सम्पन्न एनप्याब्सन केन्द्रीय समितिको छैटौं अधिवेशनको विषयमा जिल्लाबाट प्रतिनीधित्व गरेका एनप्याब्सनिष्टहरुबीच नै मतभेद भएपछिको परिणाम अहिले भक्तपुरमा देखिएको छ । ‘केन्द्रीय अधिवेशनमा भएको तँ, तँ र म म तथा हात हालाहालको स्थितिको कारण आज एनप्याब्सन भक्तपुरका सदस्य विद्यालयहरुका प्रिन्सिपलहरुबीच मत बाझिएको हो ।’ एक सदस्य विद्यालयका प्रिन्सिपलले भने ।
सोही मतभेदको कारण अहिले स्पष्ट रुपमा एनप्याब्सनका अध्यक्ष जीबी खड्का समूह र केन्द्रीय सदस्य राजेन्द्र कोजू समूह गरी दुईवटा समूह स्पष्ट रुपमा सतहमा देखिएको छ । जिल्ला सदस्यहरुमध्ये अहिले कोही अध्यक्ष खड्का पक्षमा र कोही केन्द्रीय सदस्य कोजुको पक्षमा उभिएका छन् । शिक्षाकर्मीहरुबीच बढेको यो कित्ताकाटपछि एक समूहले अर्को समूहलाई आरोप पत्यारोप लगाइरहेका छन् । उनीहरु एक पक्षले अर्को पक्षलाई कारबाही गर्नुपर्ने पनि माग गरिरहेका छन् ।
दुई समूहमा विभक्त भएपछि सो समूहका सदस्यहरु औपचारिक र अनौपचारिक रुपमा बैठक बस्ने, छलफल गर्ने काम पनि थालनी भइसकेको छ । यसैको उदाहरण हो, राजेन्द्र कोजू नेतृत्वको समूहले मंसिर २७ गते प्रेस विज्ञप्ति जारी गर्नु र पुस १ गते एनप्याब्सन भक्तपुर अध्यक्ष खड्काले विशेष अधिवशेन डाक्नु ।
नेशनल प्याब्सन केन्द्रिय सदस्य लगायत जिल्ला उपाध्यक्ष, जिल्ला सहकोषाध्यक्ष, सदस्य लगायतकाहरुको संयुक्त प्रेस विज्ञप्तीमा जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष जी.बी. खड्काले पाँचौं जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारी र सदस्यहरुको राय नसुनी स्वेच्छाचारी निर्णय गरेको, अध्यक्षको निरंकुश कार्यशैली रहेको , चितवनमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनका विरुद्धमा अनर्गल प्रचार गरेको कोजू समूहले आरोप लगाएको छ भने पुस १ सम्पन्न छैटौं विशेष वार्षिक साधारणसभाले महाधिवेशनमा जिल्लाको आचारसंहिता विपरीत कार्य गर्ने र विद्यालयलाई कारवाही गरी सदस्य विद्यालय भक्तपुर कमलविनायकस्थित राजेन्द्र कोजू प्रिन्सिपल रहेको भक्तपुर रोम्बस् सेकेण्डरी स्कूल र कमलविनायकस्थित सरिता कोजू प्रिन्सिपल रहेको रोम्बस नेशनल स्कूललाई संस्थाको आचारसंहिताको ठाडो उल्लंघन गरेको, संस्थाको मानमर्दन हुने गतिविधिहरुमा संलग्न रहेर जिल्ला समितिलाई चुनौति दिएको ठहर गर्दै जिल्ला समितिको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरेको निर्णय गरेको थियो ।
यतिमात्र नभएर छैटौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रही बसेको जिल्ला समिति भक्तपुरको बैठकबाट गरिएको सर्वसम्मत निर्णय विपरीत गोपनीयता भङ्ग गरेको, विधान र नियमावलीमा उल्लेखित आचारसंहिताको ठाडो उल्लंघन गरेको तथा संस्थाको मानमर्दन हुने गतिविधिहरुमा संलग्न रहेकोले जिल्ला कार्यसमिति उपाध्यक्ष तथा क्रियाटिभ ई. सेकेण्डरी स्कूल, महालक्ष्मी स्थान भक्तपुरका प्रिन्सिपल विश्वराम दुवाल, सह–कोषाध्यक्ष तथा रोशन ई. स्कूल सूर्यविनायक, भक्तपुरका प्रिन्सिपल रत्नबहादुर राई र कार्यसमिति सदस्य तथा सिरिन केन ई. स्कूल कासन, व्यासी भक्तपुरका प्रिन्सिपल कमल सुवाललाई कार्यसमिति पदाधिकारीबाट पदच्यूत गरी साधारण सदस्यमात्र रहने गरी कार्यसमितिले निर्णय गरेको थियो ।
कार्यसमितिले ‘कारबाही’ मा परेका सदस्यहरु अहिले कोजूको समूहमा आवद्ध भएका छन् । एनप्याब्सनलाई भक्तपुरमा मलजल गर्न भूमिका खेल्नेहरुबीचमै भएको यो मतभेद्लाई कोहीले व्यक्तिगत स्वार्थ पूर्ति गर्ने दाउका रुपमा हेरिरहेका छन् भने कोही जुंगाको लडाइँको रुपमा । यो विवादले जिल्लाका संस्थागत विद्यालय सञ्चालकहरु असन्तुष्ट बनेका छन् ।