‘टिसर्ट १०० को, वील ३७५ को?’

433

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयलाई ताकेता पत्र पठाउँदै मन्त्रालय मातहतको राष्ट्रिय क्षयरोग केन्द्रका तत्कालिन निर्देशक डा.विकास लामिछानेले आफ्नो कार्यकालमा ‘क्षयरोग सर्वेक्षणको लागि’ १०० रुपैयाँको दरमा ६० हजार थान टिसर्ट खरीद गरी ३७५ रुपैयाँको वील पेश गरेर भ्रष्टाचार गरेकोबारे छानवीन गरि यथाशिघ्र प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

आयोगद्वारा स्वास्थ्य मन्त्रालयको नाउँमा लेखेको पत्रमा सो केन्द्रका लेखाका उपसचिव नारायणप्रसाद दाहालसंगको मिलोमतोमा खरीद गरिएको भनिएका ति ६० हजार थान टिसर्टको बारेमा ४ दिनभित्र विस्तृत प्रतिवेदन दिन गत मंसीरको पहिलो साता निर्देशन दिएको थियो ।

तर १० र २१ मंसीरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको कारण स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु विभिन्न ठाउँमा खटिएकोले सोबारेको प्रतिवेदन आयोगमा बुझाउन नसकेकोले आयोगले मन्त्रालयलाई पुनः ताकेता पत्र पठाएको हो ।

सन् २०१५ देखि मुलुकभरमा क्षयरोगको वर्तमान अवस्था पत्ता लगाउन क्षयरोग सर्वेक्षण गर्नका लागि भन्दै टिसर्ट, सवारी साधन, एक्सरे भ्यान लगायतका करोडौका सामान किनेको भन्दै केन्द्रका तत्कालिन निर्देशक डा. लामिछाने र लेखाका उपसचिव नारायणप्रसाद दाहालले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै केन्द्रकै कर्मचारीले आयोगमा उजुरी दिएका थिए ।