भिक्षु र प्रहरीद्वारा रक्तदान

334

काठमाडौं । शनिबार भक्तपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा वौद्ध गुरुमा (भिक्षु) र डयुटीमा रहेका प्रहरी समेत ४४ जनाले रक्तदान गरेपछि धेरैले सो कार्यको प्रशंसा गरेका छन ।
बौद्ध धर्म अनुसार काम, क्रोध, लोभ र मोह त्यागेर सादा जीवन यापन गर्दै आएका वौद्धमार्गीले रक्तदान गरेको सर्वसाधारणले नौलो मानेका छन् ।
पायोनियर ओपन स्काउट क्र्युको आयोजना तथा रक्त सञ्चार केन्द्रको सहयोगमा भएको खुल्ला रक्तदान कार्यक्रममा स्थानीय मुनिविहारकी भिक्षु अनागरिका (पद) केशरी गुरुमा सहित महानगरीय प्रहरी प्रभाग ब्यासीका ४ जना प्रहरीले रक्तदान गरेका थिए ।
मुनिविहारको कार्यक्रम सकेर अन्य वौद्धमार्गी (भिक्षु(भन्ते) संगै फर्कँदै गरेकी अनागरिका केशरी गुरुमाले रक्तदान गर्ने इच्छा व्यक्त गरेपछि रक्तदान गरेको आयोजक पायोनियर ओपन स्काउट क्र्युका अध्यक्ष रविन्द्र बासुकलाले बताए ।

कार्यक्रममा सो क्र्युका अध्यक्ष बासुकलाका साथै स्काउट शिक्षक, रोभर तथा रेन्जर स्काउटले पनि रक्तदान गरेको पायोनियर ओपन स्काउट क्र्युका रोभर लिडर कृष्णसुन्दर दुवालले बताए ।
यसैगरि सोही कार्यक्तममा आयोजित निःशुल्क आँखा तथा मोतियाविन्दु परीक्षण शिवीरमा स्थानीय १ सय ५० जना वृद्धवृद्धाको आँखा परीक्षण गरिएको थियो । तिलगंगा आँखा केन्द्र अन्तर्गतको सामुदायीक आँखा केन्द्र च्याम्हसिंहको सहयोगमा सञ्चालित सो शिवीरमा पत्रा लागेका मोतियाविन्दु भएका ६ जना जेष्ठ नागरिकलाई सामुदायीक आँखा केन्द्रको सहयोगमा यसै महिना निशुल्क शल्यक्रिया गरिने रोभर लिडर दुवालले बताएका छन् ।