एन प्याब्सन भक्तपुरको ‘भाँडभैलो’मा केन्द्रीय समितिको चासो, अध्यक्ष खड्कासँग स्पष्टीकरण

338

भक्तपुर । निजी विद्यालयहरुको हकहितको लागि गठन भएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) भक्तपुरको ‘भाँडभैलो’ को विषयमा एनप्याब्सन केन्द्रीय समितिले चासो देखाएको छ ।
भक्तपुर एनप्याब्सनमा आवद्ध व्यक्तिहरुको ‘जुंगा लडाइँ’ र ‘व्यक्तिगत रिसइबी’ साध्ने थलोको रुपमा संगठनलाई उपयोग गर्न खोजेको निश्कर्षसहित केन्द्रीय एनप्याब्सनले चासो देखाएको हो ।
‘पहिलो गाँसमै ढुंगा लागेको जस्तो भएको छ, नयाँ समिति आएर केही गर्न खोज्दा सुरुमै यस्तो विवाद रहेछ भन्ने थाहा पाउँदा नमीठो लागेको छ’, एनप्याब्सन केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘साथीहरुको गुनासालाई सम्बोधन गर्नुपर्ने हुन्छ । दुबै पक्षले जे गरे पनि आखिर समस्या समाधानको दायित्व हाम्रै हो, मिलाउने घरभित्रैबाट हो । यसैले हामीले उहाँहरुलाई अलिकति संयमित तरिकाले लिइदिनुस् भनेर आग्रह गरेका छौं ।’
त्यसका लागि केन्द्रीय समितिले नै प्रदेश नं. ३ का अध्यक्ष प्रवोध रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको उनले जानकारी दिए । ‘थोरै समस्या भएको छ, त्यो बुझ्नका लागि हामीले समिति बनाएका छौं ।’ उनले भने, ‘भक्तपुरमै विवाद हुँदा भक्तपुरकै साथीहरु राखेर छानविन गर्ने कुरा आउँदैन । त्यसले गर्दा बाहिरका साथीहरु राखेर गरिरहेका छौं ।’
एनप्याब्सनका महासचिव सुवास न्यौपानले भने समितिले काम थालेको बताउँदै अध्यक्ष जिबी खड्कासँग लिखित स्पष्टीकरण समेत सोधिसकेको बताए । ‘अहिले उहाँहरुको असन्तुष्ट वा गुनासो के भनौं त्यो लिपिवद्द रुपमा लिने काम भैरहेको छ । हामीले म आफू स्वयम् नै बसेर अध्यक्ष जिबीसँग स्पष्टीरकरण सोधिसकेका छौं ।’ उनले केन्द्रीय सदस्य राजेन्द्र कोजूसँग पनि केही दिनमै लिखित रुपमै स्पष्टीकरण सोध्ने जानकारी दिए ।
भक्तपुरका एनप्याब्सनिष्टहरुबीच बढेको विवाद र मतभिन्नताले अहिले एउटै जिल्लामा दुईवटा समिति गठन हुने सम्भावना प्रबल बन्दै गएकोमा केन्द्रीय समितिको ध्यानाकर्षण भएपछि चासो दिन थालेको हो । गत कार्तिकमा चितवनमा सम्पन्न एनप्याब्सन केन्द्रीय समितिको छैटौं अधिवेशनको विषयमा जिल्लाबाट प्रतिनीधित्व गरेका एनप्याब्सनिष्टहरुबीच नै मतभेद भएपछिको ईख नमर्दाको परिणति अहिले भक्तपुरमा देखिएको जानकारहरुको भनाइ छ ।
सोही मतभेदको कारण अहिले स्पष्ट रुपमा एनप्याब्सनका अध्यक्ष जीबी खड्का समूह र केन्द्रीय सदस्य राजेन्द्र कोजू समूह गरी दुईवटा समूह स्पष्ट रुपमा सतहमा देखिएको छ । जिल्ला सदस्यहरुमध्ये अहिले कोही अध्यक्ष खड्का पक्षमा र कोही केन्द्रीय सदस्य कोजुको पक्षमा उभिएका छन् । उनीहरु एक पक्षले अर्को पक्षलाई कारबाही गर्नुपर्ने पनि माग केन्द्रीय समितिसँग गरिरहेका छन् ।
सो समस्यालाई पुस मसान्तसम्ममा समाधान गर्ने गरी तयारी भैरहेको केन्द्रीय समितिको भनाइ छ ।