जाकार्ता – लागुऔषध प्रयोगकर्ता विरुद्ध सरकारले चलाएको कारबाही अभियानका क्रममा इन्डोनेसियाको प्रहरीद्वारा नौ जना विदेशी नागरिक मारिएका छन् ।
उच्च प्रहरी अधिकारीले उनीहरु सन् २०१७ भरीमा प्रहरीको कारबाहीमा परी मारिएको शुक्रबार जानकारी दिएका छन् ।
राष्ट्रिय प्रहरी प्रमुख टिटो कार्नाभीनले देशभरी लागु औषध प्रयोगका विरुद्धमा अभियान चलाइएको र त्यही क्रममा ती विदेशीहरु मारिएको बताउनुभयो ।
“लागुऔषध विरुद्धको अभियानका क्रममा प्रहरीले पक्राउ गर्न खोज्दा भाग्न लागेकाले उनीहरुलाई गोली हान्ने निर्णय प्रहरीले गरेको हो,” प्रहरी प्रमुख कार्नाभीनले भन्नुभयो ।
उहाँले यस अभियानका क्रममा बर्षभरीमा ४६ जना इन्डोनेसियाका नागरिक पनि मारिएको जानकारी दिनुभयो ।
प्रहरी प्रमुख टिटोले सन् २०१५ मा ४७ हजार सात सय ६७ ओटा लागुऔषध प्रयोगका घटना भएकोमा सन् २०१६ मा ४५ हजार दुई सय ५७ ओटा घटना भएकाले दुव्र्यसनको घटनामा कमी आएको बताउनु भयो ।
लागु औषध कारोबारमा लागेका शंकास्पद व्यक्तिको सङ्ख्यामा पनि कमी आएको छ । सन् २०१५ मा ६० हजार ३८७ ओटा घटना भएको थियो भने सन् २०१६ मा घटेर ५६ हजार ७९१ शंकास्पद घटना दर्ता भएका थिए ।