नेपाल इञ्जिनियरिङ कलेज बचाउन कर्मचारी धर्नामा

427

भक्तपुर : चाँगुनारायण नगरपालिका –१ दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ कलेज बचाउन माग गर्दै कर्मचारीले सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शान्तिपूर्ण धर्ना दिएका छन् । आइतबारमात्रै काठमाडौंको माइतीघरमा धर्ना दिएका कर्मचारीले कलेजलाई निजीकरण हुनबाट बचाउन माग गरेका छन् ।

धर्नामा कर्मचारीले कलेजलाई सार्वजनिक संस्थाकै रुपमा बचाइराख्न माग गरेका विभिन्न प्लेकार्ड बोकेका थिए । उनीहरुले कलेजलाई निजी बनाउन खोज्ने सञ्चालक समितिका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने, कार्यबाहक अध्यक्ष सूर्यबहादुर केसीसँगै बहुमत सञ्चालकलाई कारबाहीको माग गरेका छन् । त्यस्तै प्राचार्य शोभाकान्त देव र सहप्राचार्य तीर्थराज निरौलालाई पनि कारबाहीको माग गरिएको छ ।

यसअघि कलेजका विद्याथीले आन्दोलन चर्काएपछि पूर्वअध्यक्ष न्यौपानेबाट कलेज निजीकरण गर्दै करोडौं सम्पत्ति बाँडफाँट गर्ने कार्य रोकिएको थियो । त्यस्तै विद्यार्थी आन्दोलनकै कारण जिल्ला प्रशासन कार्यालय भक्तपुरले कलेजका संस्थापक अध्यक्ष दीपक भट्टराईलाई समस्या सुल्झाउने जिम्मा दिएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक संस्थाको रुपमा दर्ता भएको कलेजले दर्ता गरेदेखि अहिलेसम्म नवीकरण नगरेको पाइएपछि सम्पूर्ण प्रक्रिया पु¥याई नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय, कलेज सञ्चालक समिति तथा शिक्षक, विद्यार्थी र कर्मचारी बीचको सहमतिमा भट्टराईलाई जिम्मा दिइएको थियो ।

तर कार्यवाहक अध्यक्ष केसी नेतृत्वको सञ्चालक समितिले भट्टराईलाई कारबाही गरी काठमाडौंको समिट होटलमा साधारणसभा बोलाएका थिए । पूर्वअध्यक्ष न्यौपाने, कार्यवाहक अध्यक्ष केसी, सञ्चालकद्वय लवराज भट्टराई र उपेन्द्र गौतम उक्त साधारणसभामा उपस्थित भएनन् । सञ्चालकद्वय सलिल भट्टराई र हरिप्रसाद पाण्डेमात्रै उक्त साधारणसभामा उपस्थित भएको कर्मचारी संघर्ष समितिका संयोजक मनोहर खनालले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा बोलाइएको साधारणसभामा बहुमत सञ्चालक नआएपछि पुनः कलेजमै अर्को साधारणसभा बोलाइएको थियो । तर उक्त साधारणसभाकै दिन कार्यबाहक अध्यक्ष केसीले पहिले साधारणसभा बोलाइएको समिट होटलमै अर्को साधारणसभा बोलाएको उनको भनाइ छ । उक्त साधारणसभामा कलेजका प्राचार्य देव र सहायक प्राचार्य निरौला सहभागी भएपछि उनीहरु समेत कलेज निजीकरणको पक्षमा रहेको प्रस्ट भएको कलेजका कर्मचारीले बताएका छन् ।

लम्बोदर न्यौपाने अध्यक्ष छँदै सञ्चालक समितिको बैठकले सामाजिक संस्थाको रुपमा दर्ता भएको कलेजको करोडौंको सम्पत्ति सञ्चालक सदस्यमा बाँडफाँट गर्ने निर्णय गरेको थियो । साथै उक्त बैठकले पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भइरहेको कलेजलाई मध्य पश्चिम विश्वविद्यालयको सम्बन्धनमा नेपाल इञ्जिनियरिंग कलेजकै नाउँमा निजी कलेज सञ्चालन प्रक्रिया अघि बढाइएपछि आन्दोलन चर्केको हो ।

शैक्षिक माफियाहरुकै कारण नेपाल इञ्जिनियरिङ कलेजलाई एकएक पाइला गरी सिध्याइएको अर्का कर्मचारी सुमन प्रजापति बताउँछन् ।आन्दोलनमा सक्रिय विद्यार्थीहरु परीक्षामा सहभागी भइरहेकाले कलेज बचाउन कर्मचारीहरु आन्दोलनमा उत्रनुपरेको उनले सुनाए । उनका अनुसार परीक्षापछि विद्यार्थी र शिक्षकहरु पनि आन्दोलनमा उत्रने तयारीमा छन् ।

कर्मचारीले कार्यवाहक अध्यक्ष केसीसहितको बहुमत सञ्चालकले कलेजको निजीकरणविरुद्ध आन्दोलनमा उत्रिएका ५० प्रतिशत कर्मचारीलाई समेत सजायस्वरुप बर्खास्त गर्ने निर्णय गरिसकेकोसमेत सुनिएको बताए । आन्दोलनमा उत्रिएका कर्मचारीले जिल्ला प्रशासन कार्यालय भक्तपुरले हस्तक्षेप गरेर समस्या नटुंग्याएसम्म नेपाल इञ्जिनियरिंग कलेजले निकास नपाउने बताएका छन् ।  ९५ प्रतिशत विद्यार्थी परीक्षामा उत्तीर्ण हुने गरेकोमा अहिले पाँच प्रतिशतमा झरेकोले विद्यार्थीको शैक्षिक भविष्य असुरक्षित हुँदै गएको उनीहरुको भनाइ छ ।