‘मेलम्चीको पाइपमा मरेका सर्प र मुसा सफा गर्नुपर्छ’

468

बलराम प्यासी
काठमाडौ । काठमाडौंको उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको पुर्वीभेगको सुन्दरीजलस्थित खानेपानी पोखरी (रिर्जभ्वायर) मा मानिस हामफालेर आत्महत्या गर्ने गरेका कारण कहिलेकाँही पानी आपूर्ति बन्द गरेर रिर्जभ्वायर सफा गरेको त सुनिएको हो ।
अनि जमिनमुनि विच्याइएको खानेपानीको पाइपमा ट्वाइलेटको ढल फुटेर मिसिएपछि पनि दुर्गन्धित र फोहोर पानी उपभोग गर्न काठमाण्डौवासी केही समय वाध्य भएकै हो ।
भावी दिनमा यस्तो नहोस र उपभोक्ताले स्वच्छ र सफा पानी पिउन पाउन भनेर १७ वर्षदेखि उपत्यकावासीले प्रतिक्षा गरेको मेलम्चीको पानी उपभोक्तालाई घरघरको धारामा बाँड्नुअघि सडकमुनि विच्छयाइएको मेलम्चीको खानेपानी पाइपभित्र मरेका सर्प र मुसा सफा गर्नुपर्ने भएको छ ।
जसको कारण २०७५ को बैशाखमा आउने हल्ला फिँजाइएको वहुप्रतिक्षित मेलम्चीको पानी राजधानीवासीले पिउने दिन अझै पर सर्न पुगेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडि)का आयोजना उपनिर्देशक दिवाकर ढकालले प्रष्ट पारेका छन ।
राजधानीमा आयोजित एक कार्यक्रममा उपनिर्देशक ढकालले ‘अलि ठुलो मोटाई बढी भएको पाइपमा त विरालो र कुकुरका छाउरा पनि मरेको हुनसक्ने’ दावी गर्दै हरेक घरको धारामा पिउने पानी पठाउनुपुर्व सबै पाइप सफा गरेर मात्रै पानी आपूर्ति गरिने बताए । मेलम्चीको पानी कहिलेदेखि पिउन पाइन्छ भनेर खानेपानी उपभोक्ताको तर्फबाट काठमाडौं महानगरपालिका ३२ वडाकी सदस्य हिरादेवी पोखरेलले उठाएको प्रश्नको जवाफ दिँदै उपनिर्देशक ढकालले सो कुरा बताएका हुन ।
‘काठमाण्डौवासीलाई अझै भ्रम छ मेलम्चीको पानी सुन्दरीजलको रिर्जभ्वायर (पानीपोखरी) मा झार्नेवित्तिक्कै घरघरमा पानी आइहाल्छ भन्ने, तर त्यो गलत हो’ ढकालले भने । सुन्दरीजलको रिर्जभ्वायरमा पानी झारिसकेपछि त्यसलाई व्लिचिंग पाउडरदेखि विभिन्न विधिबाट प्रशोधन गरेर पिउनयोग्य बनाएपछि मात्रै सुन्दरीजल मातहतका ११ वटा रिर्जभ्वायर (चुच्चेपाटी, अनामनगर, मिनभवनलगायतमा रहेका ठुला टयांकी) मा पानी भरेपछि मात्रै घरघरका धारामा पानी आउने उनले बताए । सुन्दरीजलको पोखरीमा पानी झरेको करीव ६ महिनापछिमात्रै उपभोक्ताको घरको धारामा पिउनयोग्य शुद्ध पानी आउने नले प्रष्ट पारे ।
राजधानीका करीव एकसय किलोमिटर सडक र बाटो खनेर विच्याइएका सबै पाइपहरु एकचोटी कतै चुहिने छ छैन, त्यसको चेकजाँच गर्नुपर्ने, विग्रेर उप्केको पाइप बनाउन बाँकी रहेको र लाइनिंगका काम सक्न बाँकी रहेको मेलम्ची आयोजनाका डेपुटी टिमलिडर नन्दबहादुर खनालले बताए ।
३ वर्षअघिदेखि सडक खनेर मेलम्चीको खानेपानी पाइप विच्याउने काम करीव करीव सकिएतापनि पाइप छोपेर सडकमा कालोपत्रे गर्ने काम अझै आधाजसो बाँकी रहेको पनि खनालले बताए ।
सार्वजनिक बाटो रोकेर दिउँसो कालोपत्रै गर्ने काम गर्न गाह्रो भएकोले रातीराती मात्रै काम गर्दै आएकोमा अहिले रातीको तापक्रम घटेकोले त्यो काममा पनि अवरोध आएको खनालको गुनासो थियो ।