‘भूत आयो’ भन्दै छात्रा बेहोस हुँदा पढाइ प्रभावित

533

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका २ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका छात्रा कक्षाकोठामै बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

विद्यालयमा दैनिक ६ देखि १० जनासम्म छात्रा बेहोस हुने गरेको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए ।  शाहीका अनुसार ‘भूत आयो’ भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन् ।

एकहप्तादेखि छात्राहरुमा यस्तो समस्या देखिएको हो । कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर छात्राहरु चिच्चाउने र अचेत हुने गरेको शाहीले बताए ।

भूत आयो भन्दै कराउने छात्राहरुमा अर्धचेत हुने, चिर्थोने, कराउने, हातखुट्टा छाड्नेजस्ता समस्या देखिने गरेको छ ।

त्यसरी बेहोस भएका छात्रा होसमा आउन एकदेखि दुई घण्टासम्म लाग्ने गरेको छ, नयाँ पत्रिकामा खबर छ ।