भक्तपुर ।
२० औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा भुकम्पीय जोखिम न्युनीकरणसहितको निर्माण सम्बन्धी जनचेतनामूलक शैक्षिक प्रदर्शनी सम्पन्न भयो ।
प्रदर्शनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्मारक संरक्षणको लागि सरकारले नेपालको प्राचिन शैलीबारे अध्ययन अध्यापनमा जोड दिनु पर्ने आवश्यकता औल्याउनु भयो ।
चाँगुनारायण क्षेत्रको पुनःनिर्माण ठेक्कामा दिंदा गुणस्तरीय काम नभएको उदाहरण दिंदै सम्पदा पुनःनिर्माणको कार्य सरकार आफैले गर्नु पर्नेमा जोड दिनु भयो । विदेशीले आफ्नो स्वार्थ अनुकूल सहयोग गर्ने हँदा पुनःनिर्माणमा विदेशीकोमात्र भर पर्न नहुने उहाँले बताउनु भयो ।
उहाँले काठ तस्करको कारण सम्पदा पुनःनिर्माणको निम्ति पर्याप्त काठ पाउन नसकिएको हँदा सरकारले ध्यान दिनु पर्ने बताउनु भयो । नगरपालिकामा नक्सा पास गराउनु पर्नाको आवश्यकताबारे प्राविधिक मार्फत जनतालाई सिकाउनु पर्ने धारणा राख्नु भयो ।
प्रतिनिधिसभाका सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सरकारले भूकम्प पिडितको पुनःस्थापनामा ध्यान नदिएको उल्लेख गर्नु भयो । वहाँले आवासको बन्दोबस्त आफै गर्न नसक्ने भूकम्प पिडितलाई सरकारले आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष सुनिल प्रजापतीले २०७२ सालको भूकम्पले जनधनको क्षतीका साथै ७२ वटा सम्पदा पूर्ण र ६२ वटा सम्पदामा आंशिक क्षति पुगेको बताउनु भयो । उहाँले मौलिक र आधुनिक प्रविधिको प्रयोग गरी सम्पदाको पुनःनिर्माण कार्य भइरहेको जानकारी गराउनु भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज संचालक समितिका उपाध्यक्ष रजनी जोशीले आर्किटेक्ट र इन्जिनियरलाई घरको डिजाइन र तालिम प्राप्त दक्ष डकर्मी र सिकर्मीलाई घर बनाउन जिम्मेवारी दिंदा घर अझ बलियो हुने बताउनु भयो ।
कलेज संचालक समितिका अध्यक्षज्यूको सभापतित्वमा भएको सो कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य सुनिल दुवाल र ई.रत्नशोभा प्रजापतीले पनि बोल्नु भएको थियो । प्रदर्शनीमा ६२ वटा विभिन्न विषयका मोडल, पोष्टर र रोबोटलगायतका सामग्रीहरु राखिएका थिए ।majdooronline