सिओल- अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिका र दक्षिण कोरिया आवश्यकताहनुसार उत्तर कोरियामाथि दवाव कायम राख्न सहमत रहेको बताएका छन्। शुक्रबार दक्षिण कोरियाको प्योङचाङमा सुरु भएको शीतकालीन ओलम्पिकको उद्घाटन सत्रमा सहभागी पेन्सले अमेरिका फकिर्नुअघि आइतबार सो धारणा राखेका हुन्।
उनले ओलम्पिकको दौरानमा कोरियाली प्रायद्धिपमा शान्तिपूर्ण वातावरण सिर्जना भएपनि अझै मुख्य मुद्दाहरुमा भने दिनकोजस्तो घाम नलागेको तर्क गरे।
‘उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम तथा ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षणलाई नरोकेसम्म अमेरिका, दक्षिण कोरिया तथा जापानले उत्तरतर्फको आर्थिक तथा कुटनीतिक सम्बन्धका बारेमा दिनको घाम लागेजस्तो उज्यालो महशुष गर्न सकिदैन।,’ उपराष्ट्रपति पेन्सले भने।
उनले ओलम्पिक खेलकुद उत्तर कोरियाली आणविक कार्यक्रमले उत्पन्न गराएको तनावलाई केहि हदसम्म मत्थर गर्न सफल भएको स्विकारे।
उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण्का राष्ट्रपति मुन जाइ इनलाई उत्तरको भ्रमण गर्न दिएको निम्तोप्रति लक्षित गर्दै उपराष्ट्रपति पेन्सले भने,‘उत्तर कोरियाको प्रस्तावलाई भने अमेरिका आफैले अलग राखेको छ।’
गत शनिबार मात्रै उत्तरका नेता उनले आफ्नो उच्चस्तरिय प्रतिनिधिमन्डलमार्फत दक्षिणका राष्ट्रपति इनलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका थिए। यदि दक्षिणका तर्फबाट सो भ्रमण भएमा करिब एक दशकभन्दा लामो समयमा दुई कोरियाली प्रमुखबिचको पहिलो भेट हुनेछ।
सो निम्तोलाई लिएर दक्षिणका राष्ट्रपति इन भने सकारात्मक देखिएका छन्। उनले भने,‘दुवै कोरिया मिलेर यसलाई चरितार्थ गर्न सक्छन्। यो भेटले उत्तर कोरियालाई अमेरिकासँग पुनः छलफल सुचारु गर्न प्रोत्साहन गर्नेछ।
दक्षिणका प्रधानमन्त्री लि नाक ऐनले आइतबार अन्तर्राष्ट्रिय सहयोग तथा उपयुक्त अवस्था आएको खण्डमा सो भेट हुनसक्ने आशा व्यक्त गरे। तर भेटवार्ताका लागि दक्षिण कोरियाले कस्तो अवस्था खोजेको हो भन्ने बारेमा भने उनले केहि खुलाएनन्।
प्योङचाङ ओलम्पिकमा उत्तरले सहभागिता जनाएपछि प्योङयाङको परमाणु कार्यक्रमलाई लिएर दुबै देशको सम्बन्धमा सुधार ल्याउन प्रयास हुने देखिएको छ।