भक्तपुर । भलिबल खेलका राष्ट्रिय खेलाडी उत्पादनमा अब्बल सावित बनेको भक्तपुरको आर्दश ज्योति स्कूलले चौथो आदर्श ज्योति(एजे) कप भलिबल प्रतियोगिता गर्ने भएको छ ।
सरकारले भलिबलाई राष्ट्रिय खेल बनाइसकेको अवस्थामा खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउनका लागि भक्तपुर सूर्यविनायक नगरपालिका पाण्डुबजारस्थित सो विद्यालयले उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगिता गर्न लागेको विद्यालयले जनाएको छ ।
खेलाडीहरु क्रमशः रुपक बस्नेत, देवन विक, एलिसा भुजु, विनिका शिल्पकार, सपना भूजेललगायतलाई राष्ट्रिय तथा क्षेत्रिय खेलकुद प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गराइसकेको सो विद्यालयले यो छात्र र छात्रा दुई विधामा छुट्टाछुट्ै स्पर्धा गराउने गरी विद्यालयस्तरीय प्रतियोगिता गर्न लागेको विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले बताए ।
‘विं.सं. २०७१ सालदेखि प्रतियोगिता गर्दै आएका छौं, यसले विद्यालयलाई मात्र नभएर विद्यार्थीलाई पनि फाइदा पुगिरहेको छ, विद्यार्थीलाई स्वस्थ बनाउन, विभिन्न कुलतबाट जोगाउन र पढाइप्रति लगाव बढाउन खेलकुदले निक्कै सहयोग पुर्याएकोले खेलअन्तर्गत भलिबल प्रतियोगतालाई निरन्तरता दिइरहेका हौं ।’ प्रिन्सिपल दुवालले भने ।
विद्यालयका ईसिए इन्चार्ज एवं प्रतियोगिता संयोजक रामकुमार रानाले उपत्यकाव्यापी प्रतियोगिताको लागि आवश्यक तयारी भइरहेको बताउँदै प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका विभिन्न विद्यालयहरुको सहभागिता रहने जनाए । उनले छात्र तथा छात्रा भलिबलमा न्यूनतम ३० समूहको सहागिता हुने जनाए ।
फागुनको २४, २५, २६ र २७ गते हुने उक्त प्रतियोगिताका लागि एजे स्पाट्र्स क्लबको विशेष सहयोग समेत रहने भएको खेल संयोजक रानाले बताए ।
नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार हुने प्रतियोगिता लिग कम नकआउट प्रणालीबाट हुनेछ भने लिग चरणको खेलहरु बेस्ट अफ थ्रीमा खेलाइने गरी विद्यालयले तयारी थालेको छ ।
प्रतियोगिताअन्तर्गत प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था भएको बताउँदै खेल प्रशिक्षक एवं भलिबल रेफ्री रुकेश शाहीले बताए । उनले भलिबलप्रति विद्यालयहरुको समेत आर्कषण बढेको बताउँदै प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरी पुरस्कृत गरिने पनि बताए । उनले प्रशिक्षकमा पनि उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कारको व्यवस्था गरेको बताए ।