काठमाडौं ।
नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामा नौ दिनको उपचारपछि सोमबार ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासीबाट डिस्चार्ज भएका छन् ।
दाहिने गोडामा चोट लागेका लामा शल्यकृया र नियमित फिजियोथेरापी उपचारपछि डिस्चार्ज भएका हुन् ।
नौ दिन अघि सो अस्पतालमा भर्ना भएका लामाको सोही राती वरिष्ठ अर्थाेपेडिक सर्जन तथा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको थियो । त्यसकोे भोलिपल्टदेखि नै लामाको फिजियोथेरापि समेत शुरु गरिएको अस्पतालका सञ्चार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले बताए ।
हाल उनको घाउ निको हुँदै गएको र बैशाखीको सहायतामा हिँडडुल गर्न सक्ने अवस्था रहेकोले उनलाई डिस्चार्ज गरीएको डा.चक्रराज पाण्डेले बताएका छन् । लामा ६ देखि ८ महिनामा खेलमा फर्कनसक्ने समेत डा.पाण्डेले बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपकप्तान लामाले पनि आफुले उत्कृष्ट उपचार पाएकोमा कृतज्ञता ब्यक्त गर्दै उपचारमा संलग्न डा.पाण्डेको टोली तथा ग्राण्डी अस्पताल परिवारप्रति आभार व्यक्त गरे ।
धरानमा सम्पन्न भएको बुढा सुबा गोल्डकप फुटबलको फाइनल खेलमा नेपाल पुलिस विरुद्ध खेल्दा घाइते भएका लामालाई तत्काल सो अस्पतालमा उपचारको लागि ल्याइएको थियो ।
खेलकुदका क्रममा खेलाडीलाइ हुनसक्ने बिभिन्न चोटपटकको उपचारका लागि हाल ग्राण्डी अस्पताल गन्तव्यका रुपमा परिचित रहेको र अस्पताल स्थापनाको पाँचवर्षको अवधिमा सो अस्पतालमा सयौं खेलाडीको सफल उपचार भइसकेको पनि व्यवस्थापक अधिकारीले बताएका छन् ।
चौबिसै घण्टा तयारी अवस्थामा रहने अस्पतालका दक्ष र अनुभवि ट्रमा सर्जनहरुको टोलीले शरीरका विभिन्न अङ्ग र हाडजोर्नीमा चोटपटक लागी उपचार गर्न आएका बिरामीको तत्काल उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।