सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव : रसिया ; सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

375

मस्को/ रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ ।

सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उहाँले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सवै पक्षलाई कम्तिमा तीस दिने युद्धविराम गरी मानवीयता कायम राख्न आग्रह गरिएको छ ।  रसियाका उच्च कुटनीतिक अधिकारी लाभरोेभले आईएस लडाकूले मात्रै नभई अन्य पक्षले पनि युद्धविरामका सर्तहरू पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

दामसकस – अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

अनुगमनकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार आतंकवादी विरुद्ध भन्दै गरिएको आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो ।

इस्लामिक स्टेट (आइएस) लडाकूको पक्कड क्षेत्र मानिने उफ्राटेस नदीको किनारमा आईतबार हवाई आक्रमण भएको थियो ।

बेलायतको लण्डनमा कार्यालय रहेको अनुगमनकारी संस्थाले मारिएका मध्ये आधाभन्दा बढी बालबालिका रहेको जनाएको छ ।

सिरियाली राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले २९ जनाको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको समाचार प्रवाह गरेको छ ।

देर अजोरमा गत हप्ता पनि अमेरिका नेतृत्वको हवाई सेनाको आक्रमणमा परी १५ नागरिकको मृत्यु भएको सानाले जनाएको थियो ।

कुर्द नेतृत्वको प्रजातान्त्रिक शक्ति (एसडीएफ)लाई अमेरिका नेतृत्वको गठबन्धनको समर्थन रहँदैआएको छ ।