भलिबलमा ग्लासियर र आयोजक एजे भिड्ने

318

रश्मिला बखुन्छें
भक्तपुर । फागुन २४ देखि चालू चौथो आदर्श ज्योति(एजे) कप भलिबल प्रतियोगितामा आयोजक विद्यालय र काठमाडौंको ग्लासियर इन्टरनेशनल विद्यालय भिड्ने भएका छन् ।
भलिबल खेलमा राष्ट्रिय खेलाडी उत्पादनमा अब्बल सावित बनेको भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति स्कूलले आयोजना गरेको विद्यालयस्तरीय उपत्यकाव्यापी एजे कप भलिबल प्रतियोगिताको छात्रतर्फ आयोजक एजे र काठमाडौंको ग्लासियर स्कुल फाइनलमा प्रवेश गरेका हुन् । ती दुईबीचको खेल बुधबार हुने आयोजकले जनाएको छ ।
सरकारले भलिबललाई राष्ट्रिय खेल बनाइसकेको अवस्थामा खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउनका लागि गर्न लागेको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा छात्र र छात्रा विद्यार्थीबीच छुट्टै स्पर्धामा छात्रातर्फ आदर्श जनप्रेमी प्रथम, आयोजक एजे द्धितीय र दीव्यदीप तृतीय भएका छन् ।
छात्रातर्फ आदर्श जनप्रेमी र एजेबीच भएको खेलमा आदर्श जनप्रेमीले १६–२५, १३–२५ र १५– २५ को सोझो सेटले पराजित गरी प्रथम भएको थियो । त्यस्तै दीव्यदीप र गणेश सिपाडोलबीच भएको खेलमा दीव्यदीपले १३–२५, १७–२५ को सोझो सेटमा गणेशलाई पन्छाएको थियो ।
खेलको छात्रतर्फ तृतीय स्थानको लागि वागीश्वरी मावि र गान्धी स्कुलबीचको खेलमा वागीश्वरी तृतीय भएको छ । खेलमा वागीश्वरीले २५–१९, २०–२५ र १८– २५ को अंकका साथ जीत हासिल गरेको थियो ।
विद्यालयका ईसिए इन्चार्ज एवं प्रतियोगिता संयोजक रामकुमार रानाले विद्यालयस्तरीय उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका गरी ११ विद्यालयको सहभागिता रहेको जानकारी दिँदै खेलको फाइनल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार(आज) हुने जनाए ।