शिक्षा अन्धविश्वास चिर्ने अस्त्र : सांसद सुवाल

274

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सचिव एवं प्रतिनीधिसभा सांसद प्रेम सुवालले शिक्षालाई अन्धविश्वास चिर्ने अस्त्रको संज्ञा दिएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गको पकुनेपाटीस्थित साइनिङ्ग इग्लिश सेकेण्डरी स्कुलको २५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने क्रममा उनले कैलालीमा कक्षा ११ अध्ययनरत विद्यार्थी राधा चौधरीमाथि भएको ज्यादतिको निन्दा गर्दै उक्त कुरा बताएका हुन् ।
उनले समाजमा भएका अन्धविश्वास, कुरिति र कुंस्कृतिको अन्त्यका लागि शिक्षाले भूमिका खेल्नुपर्नेमा शिक्षित व्यक्तिहरुले नै शिक्षालाई भ्रष्ट बनाउँदै लगेको पनि बताए । शिक्षाले नै मानिसलाई वास्तविक मानिस बनाउने भएकोले शिक्षकहरुले नयाँ पुस्तालाई अघि बढाउने, अन्धविश्वासलाई नमान्ने खालको शिक्षा दिनु जरुरी रहेकोमा उनको जोड थियो ।
‘हामीले विज्ञानसम्मत कुरालाई अघि बढाउनुपर्छ, त्यसले मात्र हाम्रो समाज अघि बढ्छ’, सांसद सुवालले भने, ‘त्यसले नै समाजमा आमूल परिवर्तन हुन्छ ।’
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं विद्यालय सञ्चालक समिति सदस्य न्हुच्छेभक्त फोँजूले कामगरी खाने अभिभावकका सन्तानलाई पनि सस्तो, सुलभ र वैज्ञानिक शिक्षा दिनका लागि विद्यालय स्थापना गरिएको बताउँदै भक्तपुरको उत्तरी भेगमा खुलेको सो विद्यालयको कारण धेरै अभिभावकहरुको श्रम, समय र पैसा बचत भएको बताए ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जीबी खड्काले विद्यार्थीलाई स्वाभिमानी, नैतिकवान् र चरित्रवान् बनाउनका लागि संस्थागत रुपमा आफूहरु लागिरहेको उल्लेख गर्दै भक्तपुरको शिक्षालाई अझ उत्कृष्ट दिशातिर लग्नका लागि जनप्रतिनीधिहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

सो क्रममा कार्यक्रममा प्रमुख अतिथि, अतिथि तथा विद्यालयका प्रिन्सिपल, सञ्चालक समितिका पदाधिकारीहरुले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा नियमित विद्यालय आउने चारजना विद्यार्थीहरु क्रमशः रिजन काशिछ्वा, रीना लागेजू, कुशुम श्रेष्ठ र साजन ढुकुछु, अनुशासित विद्यार्थी बनेका विद्यार्थीहरु क्रमशः आयुषा श्रेष्ठ, अविन ल्हो, परिशा पुरी, अनिल सुनार र सफाइमा उत्कृष्ट बनेका विद्यार्थीहरु, अस्थानी बिडारी, आर्यन लामा, जीवेश गिरी र दिलाशा थापालाई सम्मान गरिएको थियो ।
कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई मात्र नभएर विद्यालयका विभिन्न प्रतियोगिता र क्रियाकलापमा उत्कृष्ट बन्न सफल विद्यार्थीहरुलाई पनि सोही अवसरमा पुरस्कृत गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष बिक्रम ढकुछुले जानकारी दिए ।
उनले साइनिङ्ग स्कुलमा अध्ययन गरी विद्यालयको नाम राख्नका लागि सहयोग गरेका विद्यार्थीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको बताए । वि.सं. २०४९ सालमा स्थापना भएको उक्त विद्यालयले मनाएको रजत जयन्तीका अवसरमा मोटिभेटर कमल सिलवाल, विव्यस अध्यक्ष सूर्यबहादुर फोँजू, मीन बाटा, युज्दो अध्यक्ष राम दुवाललगायतले विद्यार्थीलाई देखाउनुपर्ने दिशाबारे बोलेका थिए ।