चाँगुनारायण सामुदायिक वनको अध्यक्षमा श्रेष्ठ

643

भक्तपुर ।

चाँगुनारायण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा बलबहादुर श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।
विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरमा रहेको ४७.३ हेक्टर क्षेत्रफल रहेको वनका उपभोक्ताहरुको समूहको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समूहको उपाध्यक्षमा रमेश खनाल, सचिवमा बुद्धलक्ष्मी महर्जन, सहसचिवमा रामेश्वर रानामगर र कोषाध्यक्षमा सानु महर्जन चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा रामकृष्ण परियार र रविन रानामगर चुनिए ।
साधारणसभा उद्घाटन गर्दै प्रदेशसभा सदस्य हरिशरण लामिछानेले वन स्थानीय उपभोक्ताको आयआर्जनको स्रोत बन्नुपर्नेमा जोड दिए ।
संघीयता कार्यान्वयनमा आएसँगै जनताले घरदैलोमै सेवा सुविधा पाउने उनको भनाइ थियो ।
जिल्ला वन कार्यालय भक्तपुरका प्रमुख फणिन्द्र पोखरेलले जनसंख्याको तुलनामा ४० प्रतिशत वन क्षेत्र हुनुपर्नेमा भक्तपुरमा १७ प्रतिशतमात्रै रहेको जानकारी दिए ।
भएका वन क्षेत्रसमेत अतिक्रमणको चपेटामा परेको भन्दै उनले वन क्षेत्र बढाउन स्थानीय उपभोक्ताहरुलाई क्रियाशील हुन आग्रह गरे ।
समूहका निर्वाचित अध्यक्ष श्रेष्ठले सामुदायिक वनलाई समूहका दुई सय ५५ घरधुरीको आयआर्जनको माध्यम बनाउने योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।