बलराम प्यासी
हे नर्भिक ! तिमीले मोहनी लगायौ
नधाइ त हुँदै नहुने बनायौ ।
बुबा बुबा भन्नेको जमात थुपारी
मोटो मसिनो तिखो सुई घुसायौ ।
रमाउने गर्थें सँधै संसार घुम्दै
बेडको विरामी भनेर नाम दिलायौ ।
कुरी बस्नुपर्ने, डाक्टर आउलान भनी
चाँडो नआइ धेरै किन कुरायौ ।
कहिले ‘नेबु’ त कहिले ‘भि प्याप’
सकस दिएर तिमीले खै के पायौ ?
(नेबु=नेबुलाइजर, भि प्याप = शरिरमा कार्वन डाइअक्साइड घटाउने मेशीन । )
गएको शुक्रबार साँझ पाटनढोकास्थित आफ्नै घरको कोठामा नेबुलाइजरबाट अक्सिजन दिइँदै गर्दा ६३ वर्षिय मुद्रा संकलक जयहरि झाले यो कविता रचेर फेसबुकको भित्तोमा पोष्ट गरेका थिए ।
लामो समयदेखि दम र मधुमेहको औषधि उपचार गर्दै आएका झा धेरैपटक उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा जाँदा जाँदा दिक्क भएपछि यो कविता रचेका थिए । एकजना विरामीले अस्पतालमा उपचारको लागि बस्नुपर्दाको पीडा, विभिन्न निहूँमा नर्सले घोच्ने तिखा सुई, डाक्टरको प्रतिक्षा गर्नुपर्दाको क्षण सम्झेर उनले कविता रचेको कुरा सो कविता पढेपछि छर्लंग हुन्छ ।
हुलाक टिकट सम्वन्धि संस्था ‘नेपाल फिलाटेलिक सोसाइटी’का सल्लाहकार तथा आजीवन सदस्य एवम् ‘नेपाल मुद्रा संकलक संघ’का आजीवन सदस्य र सल्लाहकार झाले यस्तो कविता रचेको तीनदिन नवित्दै आइतबार विहान आफ्नो देह त्यागे । दम तथा मधुमेहको दीर्घविरामी रहेका झा नेपालको कागजी मुद्राको वीज्ञको रुपमा देश विदेशमा चिनिन्थे ।
उनले १७ वर्षअघि सन् २००१ मा नेपालमा कागजी मुद्रासम्वन्धि नालीवेली सहितको नेपाली र अंग्रेजी भाषामा पुस्तक नै प्रकाशन गरेका थिए । जुन पुस्तक नेपाली मुद्राको इतिहासमा महत्वपूर्ण कडीको रुपमा चिनिन्छ ।
स्वर्गीय झाले नेपाली कागजी मुद्रा (नोट) को इतिहास, नोटमा हुने सम्पूर्ण विवरण, खजाञ्चीदेखि गर्भनरसम्मका हस्ताक्षर, सुरक्षा धागो, सक्कली र नक्कली नोट छुट्याउने तरीका लगायतका विषका सर्वसाधारणलाई बताउँदै आएका थिए ।
पछिल्लोपटक उनले शान्तिनगरको बेबिलोन नेशनल सेकेण्डरी स्कुलका विद्यार्थीमाझ नेपाली कागजी मुद्राको प्रदर्शन गर्दै त्यसबारे एकदिने कक्षा नै सञ्चालन गरेका थिए ।
‘नेपाली कागजी मुद्राका ऐतिहासिक व्यक्तित्व’को रुपमा परिचित झासंग विभिन्न समय र सबैथरीका लाखौं रुपैया बराबरको प्रायः सबै कागजी नोट संग्रहित थियो ।
मुद्रावीज्ञ झाको निधनले नेपाली कागजी मुद्राको इतिहासमा ठुलो क्षति पुगेको नेपालको राष्ट्र गानका सर्जक प्रदिपकुमार राई (व्याकुल माइला) ले बताए । मुद्रा वीज्ञ र हुलाक टिकट संकलक झाले व्याकुल माइलाद्धारा रचित नेपालको राष्ट्रगान अंकित हुलाक खाम (हवाइ पत्र) संकलन गरेर अमेरिकी मुद्रा संकलक सामु मात्रै नभई अन्र्तराष्ट्रिय क्षेत्रमा समेत प्रर्वद्धन गर्न भ्याएका थिए ।
नेपालमा संस्कृतिवीद सत्यमोहन जोशीपछि नेपाली मुद्रा संकलकको रुपमा रहेका झाले मुद्रा र हुलाक टिकट संकलनमा आफ्नो चार दशक समय विताएका थिए । नेपाली कागजी नोटबारे उनले स्वदेश तथा विदेशका विभिन्न ठाउँमा प्रर्दशनी समेत आयोजना गरेको स्वर्गीय झाका मित्र एवम् मुद्रा संकलक संघ एवम् नेपाल फिलाटेलिक सोसाइटीका सल्लाहकार एवम् वरिष्ठ सञ्चारकर्मी श्रीराम सिंह बस्नेत बताउँछन ।
आइतबार विहान निधन भएका स्वर्गीय झाको आइतबार अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । उनको मृत शरिरमा उनका छोरा विनित चन्द्र झाले दागवत्ति दिएका थिए । स्वर्गीय झा का श्रीमती, एकछोरा र एक छोरी छन ।