क्रिकेट मैदानलाई चाँगुनारायणको जग्गा ‘उपयुक्त’

2471

भक्तपुर :  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन भक्तपुरको चाँगुनारायण नपा ४ स्थित जग्गा उपयुक्त भएको बताएका छन् ।

उनले स्थानीय जनताबाट स्वीकृति दिए उक्त जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन आफूहरु तयार रहेको जानकारी दिएको चाँगुनारायण नपा ४ का वडा अध्यक्ष बुद्धिलाल महर्जनले जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल धुर्मुससहितको टोलीले शनिबार उक्त जग्गाको अवलोकन गरेको थियो । उक्त टोलीले साविक चाँगुनारायण गाउँ विकास समिति ७ क स्थित १२२ रोपनी पर्ती जग्गाको अवलोकन गरेको हो ।

उक्त जग्गा फिल्ड नक्सा हेर्दा नेपालकै नक्सा जस्तै रहेको छ । सँगै जोडिएका दुई कित्तामध्ये ३१६ कित्ता नम्बरको क्षेत्रफल २८ रोपनी र ३१७ कित्ता नम्बरको क्षेत्रफल ९४ रोपनी रहेको छ ।

उत्तर दक्षिण भिरालो रहेको उक्त जग्गा क्रिक्रेट मैदान बनाउन धेरै रुपले उपयुक्त रहेको वडा अध्यक्ष महर्जन दावी गर्छन् । उनका अनुसार दुई कित्ताको जग्गा उत्तर दक्षिण करिब २५० मिटर चौडाइ र पूर्वपश्चिम करिब ५०० मिटर लम्बाइ रहेको छ ।

‘उक्त जग्गा १५ फिट फराकिलो बाटो पुगेको छ’, वडा अध्यक्ष महर्जन भन्छन्, ‘त्यसैले अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन उक्त जग्गा धेरै दृष्टिबाट उपयुक्त भएको हाम्रो ठहर हो ।’

प्रदेश ३ का मुख्यमन्त्रीकै आग्रह एवं प्रस्तावमा जग्गा क्रिकेट मैदानको लागि उचित होला भनी देखाएको उनको भनाइ थियो ।
‘सोहीअनुसार मुख्यमन्त्रीज्यूले जग्गा उपयुक्त भएको जनाउनुभएको हो’, वडा अध्यक्ष महर्जनले भने, ‘उहाँले यहीं क्रिकेट मैदान बनाउन तयार रहेकोसमेत आश्वासन दिनुभएको छ ।

मुख्यमन्त्री पौडेलले जग्गा अवलोकनका क्रममा स्थानीय जनतासँग उत्तः जग्गा सार्वजनिक हो होइन भन्नेबारेसमेत सोधपुछ गरेका थिए । स्थानीय साधुराम दाहालका अनुसार मुख्यमन्त्रीले उक्त जग्गा पर्ती भएको नभएको बारे स्थानीयसँग सोधपुछ गरेका थिए ।

‘उहाँ (मुख्यमन्त्री) ले उक्त जग्गा पर्ती हो होइन हामीसँग बुझ्नुभएको थियो’, उनले भने, ‘हामीले जानेबुझेदेखि उक्त जग्गा सार्वजनिक हो ।’आफ्नो घरआँगनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भए स्थानीय जनता थप जग्गा योगदान गर्न तयार रहेको उनले सुनाए ।

उक्त जग्गा भक्तपुर–चाँगुनारायण सडकबाट करिब एक किलोमिटरमात्रै टाढा छ । भक्तपुर–व्यासी–झौखेल–नारायणटार–साङदह चाँगुनारायण सडकबाट पनि एककिलोमिटरको मात्रै दूरीमा छ । यी दुवै सडक कालोपत्रे भएका ठूला सडक हुन् । त्यसैले उक्त जग्गा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन हरेक दृष्टिले उपयुक्त भएको स्थानीय दाहालले दावी गरे ।