बलराम प्यासी
काठमाडौं ।
सुन्दा अचम्म लाग्छ, आफुभन्दा मुनिको तहको कर्मचारीले माथिको तहको कर्मचारीलाई हाजीर गर्न रोक लगाउँछ भनेर । तर स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक भएर करीव एकवर्ष देशभरीका करीव ३२ हजार स्वास्थ्यकर्मीको प्रमुख बनिसकेका डा.राजेन्द्रप्रसाद पन्तलाई बुधबारको दिन निकै सास्ती खेप्नु पर्यो ।

पछिल्लो समयमा निकै विवादित राष्ट्रिय क्षयरोग केन्द्र थिमिमा काज फिर्ता भई हाजीर हुन गएका डा.पन्तलाई उनीभन्दा एक तह मुनिका निमित्त निर्देशकले हाजीर गर्न नदिएपछि उनी रन्थनिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे ।
केन्द्रका निर्देशक डा.केदारनरसिंह केसी उमेरको हदका कारण मंगलबारदेखि सेवा निवृत्त भएको थाहा पाएपछि डा.पन्त बुधबार एकाएक राष्ट्रिय क्षयरोग केन्द्रमा ‘निर्देशक’ बन्न पुगेका थिए । उनी केन्द्रमा २०७०÷०७१ सालताका निर्देशक थिए ।
निर्देशक डा.केसी सेवा निवृत्त भएको भोलिपल्टदेखि कानुनतः वरिष्ठताको आधारमा केन्द्रका १० औं तहका वरिष्ठ कन्सल्ट्यान्ट चेष्ट फिसिजसियन डा.मोहन प्रसाई निमित्त निर्देशक बने ।
तर केन्द्रका ३ वर्षअघिका निर्देशक डा.पन्त एकाएक केन्द्रमा ‘आफैं निर्देशक भएको’ भन्दै सिधै निर्देशक बस्ने कोठामा छिरेर केही बेर बसेका थिए । तर निमित्त निर्देशक डा.प्रसाइले केन्द्रको हाजीरकापी आफ्नो कार्यकक्षमा राखेका कारण डा.पन्तले हाजिर गर्न पाएनन । केन्द्रमा डा. प्रसाई वरिष्ठताको आधारमा स्वतः निमित्त निर्देशक र डा.पन्त स्वघोषित निर्देशक बनेर आएका कारण एकैसमयमा २ जना निर्देशक भेटेपछि केन्द्रका कर्मचारी भने कसलाई ‘हाकिम’ मान्ने भनेर अल्मल्लिएका देखिन्थे ।
आफुभन्दा एक तहमाथि र विभागको निमित्त महानिर्देशक समेत भईसकेका डा.पन्तलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘रवाना पत्र’ नभएको र ‘ विभागबाट २ फागुनदेखि २० चैतसम्म कतै हाजिर भएको या विदा बसेको पत्र’ नभएका कारण केन्द्रको हाजीरकापीमा हाजीर गर्न दिएनन । हाजीर गर्न नपाएपछि उनी रातोपिरो हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे । त्यहाँबाट रवानापत्र नबनेपछि उनी फेरी स्वास्थ्य सेवा विभाग पुगे ।

विभागका निमित्त महानिर्देशक चुडामणी भण्डारीले १ महिना १५ दिन अघि अर्थात मिति ६ फागुनको मिति राख्दै यसअघि कार्यरत रहेको कार्यालयमा काज फिर्ता गरिएको रवानापत्र दिएर पठाए । विभागको सो पत्र लिएर डा. पन्त क्षयरोग केन्द्रको प्रशासन फाँटमा बुझाएर उनी बुधबारको हाजीर नगरी फर्के ।
विभागको पत्रअनुसार डा.पन्तलाई पुरानै कार्यालयमा हाजीर हुनु भनेता पनि ‘निर्देशक’ भनेर नखुलाइएका कारण मन्त्रालयको निर्देशक पद खुलाइएको अर्काे पत्र विना उनी निर्देशक नहुने बताइन्छ ।
तत्कालिन स्वास्थ्य मन्त्री दिपक बोहोराले विभागको निमित्त महानिर्देशकबाट ३० पुुसमा हटाई स्वास्थ्य मन्त्रालयमा हाजीर गराएदेखि डा.पन्त कुर्सीको अभावमा रन्थनिइरहेका थिए । मन्त्री बोहोराको विरुद्ध उनले सर्वाेच्च अदालतमा मुद्धा हालेपछि सर्वाेच्चले उनलाई हाललाई ‘नि.महानिर्देशकमा वहाली गर्नु ’ भनेर अन्तरिम आदेश दियो ।
सर्वाेच्चको अन्तरिम आदेशको मान राख्दै मन्त्रालयले सचिव स्तरीय निर्णय गरी २५ माघमा विभागमा उनलाई पुनः हाजीर हुन पठायो । त्यसको लगत्तै उनलाई फेरि मन्त्रालयमै फाजिलमा तानेको थियो ।
विभागको पत्र अनुसार २ फागुनको ‘मन्त्रीस्तरीय’ निर्णय भन्दै पुरानै ठाउँमा काज फिर्ता गरिएको भनिएता पनि १ महिना १५ दिन डा.पन्त कहाँ थिए भन्ने कुरा अन्यौल रहेको बताइन्छ ।








































