बलराम प्यासी
काठमाडौं ।
यतिखेर उप्रेती र भेटवाल परिवारमा एकैचोटी ‘जुठो’ परेको छ । दिदी मिठुदेवी उप्रेतीको ७८ वर्षको उमेरमा निधन भएको १० औं दिनमा ६५ वर्षिय भाई चितवन एमाले नेता जागृतप्रसाद भेटवालको निधन भएर दुवै घरका परिवार यतिखेर आशौचमा छन् ।
दिदी मिठुदेवी र भाई जागृत प्रसाद भेटवालको मृत्युको पनि अनौठो तर वियोगात्मक संयोग परेको छ । दिदी मिठुको १२ चैत राती ११ बजेर ५५ मिनेटमा सानोठिमीस्थित माइली छोरी प्रभाज्योति उप्रेती नेपालको घरमा निधन भएको थियो ।
त्यसको ठीक १० दिनपछि अर्थात २१ चैतमा विहान ११ बजेर ५५ मिनेटमा भाई जागृतप्रसाद भेटवालका वीर अस्पतालमा निधन भयो । नेपाल मेडिसिटी अस्पतालमा उपचाररत भएतापनि उनलाई अन्तिम अवस्थामा वीर अस्पतालमा लगिएको थियो ।
‘वियोगमा पनि अचम्मको तर दुःखद संयोग भयो’—स्वर्गीय मिठुदेवी उपे्रतीकी माइली छोरी एवम् नेता भेटवालकी भान्जी प्रभाज्योतिले भनीन । ‘दिदीभाईको अटुट मायाले गर्दा दुवैजनाको मृत्युमा संयोग देखियो र १३ दिनभित्रै पर्यो ’ प्रभाज्योतिले भनीन ।
दिदी मिठुदेवी ४५ दिनअघि छोरीको निवास सानोठिमीमा नुहाउने क्रममा हृदयाघात भएपछि तत्काल उपचारको लागि त्रिविवि शिक्षण अस्पताल लगिएकोमा थप उपचारको लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
२६ दिन लामो अस्पताल बसाईपछि उनी स्वस्थ भएर पुनः छोरीको निवास सानोठिमीमा फर्केकी थिइन । अस्पतालबाट घर फर्केको २० दिनपछि १२ चैतको राती ११ बजेर ५५ मिनेटमा उनले आफ्नो देह त्यागीन ।
पशुपति आर्यघाटमा स्व.मिठुदेवीको अन्तिम संस्कार सकेपछि यतिखेर उनका छोरा विश्वमणी उप्रेती कोटेश्वर महादेवस्थानस्थित किरीयापुत्री घरमा स्वर्गीय आमाको आशौच बारिराखेका छन । स्वर्गीय उप्रेतीका दुईछोरी चन्द्रज्योति उप्रेती खतिवडा (चन्द्रा) र प्रभाज्योति उप्रेती नेपाल (ज्योति) र एक छोरा विश्वमणी उप्रेती छन् ।
उता दिदीको निधनको ठीक १० दिनपछि भाई जागृतप्रसाद भेटवालको निधन भयो । क्यान्सरको उपचारकै क्रममा जनपक्षिय नेता भनेर चिनिएका चितवनका एमाले नेता जागृतप्रसाद भेटवालको २१ चैत बुधबार निधन भएको थियो । उनी २०४८ र २०५१ सालमा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यतिखेर स्वर्गीय नेता भेटवालका कान्छा भाई रामशरण भेटवाल पशुपति आर्यघाटस्थित किरीयापुत्री घरमा (किरीयामा) आशौच बारिराखेका छन् ।