बलराम प्यासी / काठमाडौं
स्थायी बन्ध्याकरण अर्थात् भ्यासेक्टोमी गरेका पुरुषलाई फेरि सन्तान जन्माउन सक्षम बनाउन गरिने शल्यक्रिया ‘रिक्यानालाइजेसन’ चिकित्सक अभाव खट्किएको छ ।
सन्तानको रहर पुगेर स्थायी परिवार नियोजन गरेका पुरुषलाई बाध्यता वा रहरले फेरि सन्तान जन्माउन सक्षम बनाउने शल्यक्रिया ‘रिक्यानालाइजेसन’ नेपाल परिवार नियोजन संघ उपत्यका शाखाले जडीबुटीस्थित शाखा कार्यालयमा गर्दै आएको थियो ।
‘रिक्यानालाइजेसन’का तालिम प्राप्त र अनुभवी डा. घनश्याम घिमिरेले पदबाट राजीनामा दिएपछि अहिलेसम्म शाखामा कार्य बन्द रहेको शाखाका प्रबन्धक शरदकुमार अर्यालले जानकारी दिए ।
‘यद्यपि, यहाँ आएका त्यस्ता सेवाग्राही पुरुषलाई हामीले संघ केन्द्रीय कार्यालय पुल्चोकमा पठाउने गरेका छौं,’ उनले भने,‘झन्डै एक वर्ष हुन लाग्यो, जडीबुटी शाखा कार्यालयमा यो काम बन्द भएको । हामी तालिमप्राप्त चिकित्सककोखोजीमा छौं ।’
शाखा प्रबन्धक अर्यालका अनुसार यदि नपाइए यहीँकै चिकित्सकलाई तालिम दिनुपर्ने अवस्था सिर्जना हुन सक्छ । शाखामा सो कार्य बन्द भएपछि रिक्यानालाइजेसनका लागि आएका पुरुष निजी क्लिनिक र अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन् । शाखाले रिक्यानालाइजेसन गरेबापत प्रतिपुरुष २० हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । तर, निजी अस्पताल र क्लिनिकमा ५० हजारदेखि १ लाखसम्म लिने गरेको पाइएको छ । निःसन्तान महिलाले
कोख भर्न (बच्चा जन्माउन) र फेरि सन्तान जन्माउन परिवार नियोजन उल्ट्याउने पुरुषले जति पनि पैसा तिर्न बाध्य भएको भुक्तभोगी बताउँछन् ।
पुनः नसा जोड्ने शल्यक्रिया रिक्यानालाइजेसनबाहेक पुरुषको स्थायी परिवार नियोजन भ्यासेक्टोमी र महिलाको स्थायी परिवार नियोजन मिनील्यापको काम भने निरन्तर भइरहेको प्रबन्धक अर्यालले जानकारी दिए । यसका लागि शाखामा डा. रञ्जिता रिजाल कार्यरत छिन् । उनले नै महिला र पुरुषको स्थायी बन्ध्याकरण गर्दै आएकी छन् । शाखाको बानेश्वर क्लिनिकबाट २० वर्षअघि र जडीबुटीस्थित शाखा कार्यालयमा आठ वर्षअघिदेखि सुरु रिक्यानालाइजेसन शाखाले हरेक वर्ष कम्तीमा ४० पुरुषको शल्यक्रिया गर्ने गरेको थियो । जसबाट रिक्यानालाइजेसन गरेका सयमध्ये ५५ देखि ६० पुरुष फेरि सन्तान जन्माउन सक्षम भएको शाखाले दाबी गरेको छ ।
हुर्किसकेका छोराछोरीको अकालमा मृत्यु हुनु, छोडपत्र (डिभोर्स) का कारण घरमा दोस्रो पत्नी भिœयाइनुले स्थायी परिवार नियोजन गरिसकेका पुरुष पुनः सन्तान जन्माउन रिक्यानालाइजेसन गर्न बाध्य भएका हुन् ।
भ्यासेक्टोमी गरेका ३० देखि ६० वर्ष उमेरका पुरुष रिक्यानालाइजेसन गरेपछि छोराछोरी जन्माउन सफल भएका छन् । रिक्यानालाइजेसनपछि त्यस्ता पुरुषले २ देखि ३ जनासम्म छोराछोरी जन्माउन सक्षम भएको पाइएको शाखा प्रबन्धक अर्यालको भनाइ छ ।
महिलाको स्थायी परिवार नियोजन मिनील्याप भने उल्ट्याउन समस्या हुने चिकित्सक बताउँछन् । संघ शाखा कार्यालय जडीबुटीमा रिक्यानालाइजेसन सेवा बन्द भए पनि ललितपुर पुल्चोकस्थित केन्द्रीय कार्यालयमा भने दैनिक एकदेखि दुई जनासम्मको रिक्यानालाइजेसन भइरहेको छ ।