काठमाडौं ।नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय कार्यालयले नेपाल सरकारका पुर्व स्वास्थ्य सचिव एवम् वरिष्ठ छातीरोग विशेषज्ञ डा.दीर्घसिंह बमलाई ‘स्व. नारायण गोविन्द अमात्य स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
स्वर्गीय डा.अमात्यको स्मृतिमा उनको परिवारले सो पुरस्कार कोष स्थापना गरेका थिए । पुरस्कारको व्यवस्थापन तथा छनौटको काम संस्थाले गर्दै आएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानको अध्यक्षतामा बसेको पुरस्कार समितिको वैठकले संस्थाको काठमाडौं जिल्ला शाखाका पुर्व सभापति एवम् राष्ट्रिय क्षयरोग केन्द्रका पुर्व निर्देशक समेत रहेका डा.बमलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।
२ दशकभन्दा बढी क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत डा.बमलाई सो पुरस्कार दिने निर्णय गरिएको केन्द्रीय अध्यक्ष प्रधानले बताएका छन् । घोषित पुरस्कार २०७५ साल ८ बैशाखमा सर्लाहीमा आयोजना हुन लागेको संस्थाको ३८ औं केन्द्रीय अधिवेशनमा प्रदान गरिने संस्थाले जनाएको छ ।
यसैगरि संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको ‘ओत्सुका पुरस्कार’ पनि घोषणा गरेको छ । जसअनुसार स्वमसेवकतर्फ संस्थाको संखुवासभा जिल्ला शाखाका सभापति नारयाण कटुवाल, शाखातर्फ बाँके जिल्ला शाखा तथा उत्कृष्ट कर्मचारीतर्फ संस्थाको केन्द्रीय कार्यालयका कर्मचारीद्धय प्रतिक्षा नेपाल र जुनु बुढाथोकी छन् ।