‘युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने’
बलराम प्यासी
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयको स्तर उकास्न र गुणस्तरीय विद्यार्थी उत्पादनका लागि नेपाल सरकारले चालु शैक्षिक सत्रदेखि मुलुकभर नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेकोले यसलाई सफल पार्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पनि दायीत्व रहेको बताएका छन् ।
एसओएस वालग्राम अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री ओलीसंगको भेटघाटका क्रममा सरकारको अभियानमा सघाउनु एसओएस वालग्रामको पनि जिम्मेवारी भएको कुरा औंल्याएका थिए ।
प्रधानमन्त्री ओलीले नेपालमा एसओएस वालग्रामले गर्दै आएका कामको प्रशंसा गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।
सामुदायिक विद्यालयमा नयाँ विद्यार्थीलाई भर्ना गर्नुमात्रै नभई उनीहरुलाई विद्यालयमा टिकाउनुपनि सरकारको लागि ठुलो चुनौति भएको प्रधानमन्त्रीले बताए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने विषयमा सरकार कटिवद्ध रहेकोले युवा रोजगारीका लागि पनि एसओएस वालग्रामले सघाउनुपर्ने माग गरे ।
प्रतिउत्तरमा एसओएस वालग्राम अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले सरकारले वालवालिका र शिक्षासंग सम्वन्धित अघि सारेका जुनसुकै कार्यक्रममा एसओएस वालग्राम सहयोग गर्न सदैव तयार रहेको जानकारी गराए ।
सन् २०१२ देखि एसओएस वालग्राम अन्तर्राष्ट्रियको अध्यक्ष बनेका सिद्धार्थ कौल दुईसाताव्यापी भ्रमणको लागि बिहीबार नेपाल आएका हुन ।
अध्यक्ष कौलले २०७२ बैशाख १२को भूकम्पलगत्तै नेपालका लागि एसओएस वालग्राम अन्तर्राष्ट्रियबाट १४ मिलियन डलर अर्थात करीव एक अरव ४० करोड रुपैयाँ बराबरको सहयोग नेपालमा ल्याएको बताउँदै एसओएसले भूकम्प पीडितका लागि २ सय ८४ वटा नयाँघर बनाउनेदेखि भत्किएका थुप्रै सामुदायिक विद्यालय बनाउनुका साथै जिर्णाेद्धार कार्य समेत गरेको जानकारी गराए ।
नेपालका वालग्राममा हुर्केका छोराछोरीको लागि पनि रोजगारीको विषय चुनौतिपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष कौलले सरकारले नयाँ योजना सहित स्वदेशमै युवा रोजगारीकोकार्यक्रम अघि सारेमा वालग्रामले त्यसमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
भूकम्पपीडितहरुका लागि एसओएस वालग्रामले बनाइदिएको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १२ भिमटारस्थित १ सय ७७ वटा नयाँघर र दोलखाको लाँकुरीडाँडामा निर्मित १ सय ७ वटा नयाँ घर हस्तान्तरण कार्यक्रममा भाग लिन अध्यक्ष कौल नेपाल आएका हुन ।
अध्यक्ष कौलले अभिभावक गुमाएका वालवालिकालाई परिवारमा आधारित संरक्षण गर्दै आएको तथा परिवार गुमाउनसक्ने जोखिममा रहेका वालवालिकाका अभिभावकहरुका लागि परिवार सुदृढीकरण कार्यक्रममार्फत सहयोग गर्दै आएको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
त्यस अवसरमा अध्यक्ष कौलले प्रधानमन्त्री ओलीलाई एसओएस वालग्राम अन्तर्राष्ट्रियको सांगठनिक संरचना, संस्थाले संसारका १ सय ३५ मुलकका वालवालिकाको उचित रेखदेख, स्याहार, शिक्षादिक्षा र संरक्षणको लागि गर्दै आएको कामबारे जानकारी गराएका थिए । अध्यक्ष कौलले प्रधानमन्त्री ओलीलाई एसओएस वालग्राम अन्तर्राष्ट्रियको नीतिसम्वन्धि पुस्तिका (केयर प्रोमिस) पनि हस्तान्तरण गरे ।
प्रधानमन्त्रीसंगको भेटघाट कार्यक्रममा एसओएस वालग्राम अन्तर्राष्ट्रियका नेपाल प्रतिनिधि रजनिश जैन, एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा.ज्योतिरत्न धाख्वा, राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा सहभागी थिए ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसओएस वालग्रामद्वारा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १२ भिमटारमा निर्माण गरेको १ सय ७७ वटा पक्की नयाँघर १६ बैशाख आइतबार एक विशेष समारोहका वीच स्थानीय वासिन्दालाई हस्तान्तरण गर्ने भएकी छिन् ।
राष्ट्रपति नयाँघरको साँचो स्थानीय इन्द्रावती गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एसओएस वालग्राम नेपालले जनाएको छ । यसैगरि दोलखाको लाँकुरीडाँडामा निर्मित १ सय ७ वटा नयाँघरपनि १८ बैशाखमा स्थानीय भूकम्प पीडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको वालग्रामले जनाएको छ ।
सिन्धुपाल्चोक र दोलखाका गरि २ सय ८४ वटा घर एसओएस वालग्राम अन्तराष्ट्रियको आर्थिक सहयोगमा एसओएस वालग्राम नेपालले बनाएको हो ।