भक्तपुर । नेपाल पत्रकार महासंघको अधिवशेन आएपछि सबैभन्दा बढी विवाद हुने विषय हो सदस्यता नविकरण र वितरण । महासंघको अधिवेशन आउने बेलामा विभिन्न दलका भातृ र शुभेच्छुक संस्थाको रुपमा रहेका पत्रकारहरुका संघ र संगठनहरुले आ–आफ्ना भोट बढाउने नाममा गैर पत्रकारहरुलाई सदस्यता दिने होडबाजीले सधै सदस्यता विवाद हुने गरेको छ ।
महासंघको गत वर्ष सम्पन्न २५ औं महाधिवेशनका दौरान सदस्यता विवादकै कारण केन्द्रिय कार्यालयमा पटक पटक तालाबन्दी भए । तालाबन्दीकै कारण महासंघको जिल्लाि शाखाहरुको अधिवेशन निर्धारित समयमा हुन सकेको थिएन ।
महासंघको हरेक महधिवेशनमा पत्रकारहरुका संघ संगठन र महासंघको नेतृत्व गर्न कसिने उम्मेदवाहरुको प्रमुख ऐजेण्डा नै सदस्यता शुद्धिकरण हुने गर्दछ । अहिलेको वर्तमान नेतृत्वको समेत सदस्यता शुद्धिकरण प्रमुख ऐजेण्डा थियो । सदस्यता वितरण र नविकरणमा सार्वजनिक सुनुवाई गर्ने प्रतिवद्धता समेत वर्तमान नेतृत्वले गरेको थियो ।
हुन त अहिले भईरहेको प्रदेश समितिको निर्वाचनका दौरान सदस्यता विवाद देखिएको छैन । किन की हिजो सदस्यता विवाद झिक्ने ठूला तीन संगठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले गठबन्धन गरेर भागबन्डाको आधारमा निर्वाचनमा होमिएका छन । तीन ठूला संगठन नै मिलेपछि के को सदस्यता विवाद ।
तर अहिले जसरी र जुन ढंगले सदस्यता नविकरण भएको छ र प्रदेश समितिको निर्वाचनको लागि मतदाता नामावली प्रकाशन भएको छ त्यसले महासंघको सदस्यता शुद्धिकरण अभियानको धज्जी उडाएको छ । महासंघ भक्तपुर शाखाको मतदाता मानावली हेर्ने हो भने नेपाल प्रहरीका बहालवाला प्रहरी नायव निरिक्षक, विदेशमा बसेका र मृत्यु भईसकेका व्यक्तिहरु समेतको नाम प्रकाशन भएको छ ।
महासंघ भक्तपुरको सदस्य रहेका मणिराम लामिछाने नेपाल प्रहरीका असई हुन भने दिपक लामिछाने दुई वर्षदेखी अमेरिकामा बसोबास गर्दछ । त्यसैगरी प्रवल भट्टराई एक वर्षदेखी जर्मनमा बस्छन भने गुरुप्रसाद ढकालको २०७४ श्रावणमा नै मृत्यु भईसकेको छ ।







































