काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई उपहारको रुपमा उपलब्ध गराउन लागेको उच्च प्रविधियुक्त सिमुलेटर मेशीनसहितको भाभाट्रोन दुई रेडियोथेरापि (कोबाल्ट ६० क्षमताको) मेशीन जतिसक्दो छिटो उपलब्ध गराउन भक्तपुर क्यान्सर अस्पतालले प्रधानमन्त्री मोदीसंग आग्रह गरिएको छ ।
नेपालको दुईदिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार काठमाडौंको द्वारिका होटेलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रमा केही गर्ने भन्दै भक्तपुर क्यान्सर अस्पताललाई सो मेशीन दिने घोषणा गरेका थिए ।
नेपाल अर्वुदरोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालमा करीव २० वर्ष पुरानो कोबाल्ट ६० मेशीन रेडियोथेरापी मेशीनले दैनिक करीव एकसय कयान्सर विरामीको रेडियोथेरापि गर्दै आएको संस्थाका अध्यक्ष लोकेन्द्र श्रेष्ठ ‘इश्वर’द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
अस्पतालले रेडियोथेरापि गर्नुपर्ने विरामीको चापलाई कम गर्न ६ महिनाभित्र जडान गरिसक्ने लक्ष्यका साथ अर्काे लाइनेक रेडियोथेरापि मेशीन जडान कार्य पनि गरिराखेको छ ।
प्रधानमन्त्री मोदीले भक्तपुर क्यान्सर अस्पताललाई उपहार दिने भनिएको भाभाट्रोन दुइ रेडियोथेरापि मेशीन पछिल्लो मोडेलको र अत्याधुनिक नभएपनि रेडियोथेरापि गर्नकै लागि लामो समय कुर्नुपर्ने विरामीको चापलाई कम गर्न निकै सघाउने सो अस्पतालका चिकित्सक बताउँछन । उनीहरु यसलाई ‘नहुनु मामा भन्दा कानो मामा ठीक’ नेपाली उखानसंग दाँज्छन ।
प्रधानमन्त्री मोदीको घोषणाको स्वागत गर्दै नेपाल अर्वुद्धरोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालले अस्पताल प्रांगणमा शुक्रबार साँझ दिपावली समेत गरेको अस्पतालका प्रशासकिय अधिकृत राजाराम तजलेले बताए ।
‘भारतीय प्रधानमन्त्री मोदीले उपलब्ध गराउने घोषणा गर्नुभएको रेडियोथेरापि मेशीन जति चाँडो अस्पताललाई उपलब्ध हुन्छ, त्यति नै रेडियोथेरापि गराउनुपर्ने क्यान्सरका विरामीको लागि राहत हुन्छ’ अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा.ऋषिकेश नारायण श्रेष्ठले भने ।
अस्पतालद्वारा जारी विज्ञप्तीमा यसअघि भारतीय राजद्यूतावासले सो अस्पतालको साथै नेपाल अर्वुदरोग निवारण संस्थाका विभिन्न शाखाहरुलाई एम्बुलेन्स र जेनेरेटर पनि प्राप्त भइराखेको उल्लेख गर्दै अस्पतालमा उपचार गर्न आउने विपन्न केटाकेटी तथा महिलाहरुको उपचारका लागि भारतीय महिला क्लबाट नियमित रुपमा आर्थिक सहयोग प्राप्त भइरहेको उल्लेख गरिएको छ ।