प्राविधिक डिप्लोमाको ‘माइक्रो सिलेबस’ तयार

604

बलराम प्यासी

काठमाडौं ।मुलुकभरीका प्राविधिक शिक्षालयहरुमा प्राविधिक तथा व्यवसायीक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सुक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवशायिक तालीम परिषद् अन्र्तगत पाठ्यक्रम महाशाखाको समन्वयमा नीजि क्षेत्रको फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सले विभिन्न प्राविधिक विषयका ३ सयजना वीज्ञहरुबाट प्राप्त सुझावलाई समेटी १८ महिनामा सो सिलेबस तयार गरेको हो ।

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय अध्यक्ष कश्यप पौडेलका अनुसार सो माइक्रो सिलेबस तयार गर्न नर्सिंग, सामान्य चिकित्सा, हेल्थ असिस्टेण्ट, प्रयोगशाला, रेडियोग्राफि, कृषि, भेटेरीनरी, सिभिल र इलेक्ट्रिकल इन्जिनियरिंग लगायतका विषयका वीज्ञहरुको सुझाव संकलन गरिएको थियो ।

परिषदलाई सोमबार हस्तान्तरण गरिएको सो सुक्ष्म पाठ्यक्रम प्राविधिक विद्यार्थीका लागि निकै सघाउने नीजि प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष राम पौडेलले बताए ।

उनले भने ‘धेरै पछि नेपालमा शुरु भएको प्राविधिक तथा व्यवशायिक विषय अध्ययन गराउने शिक्षकलाई सुक्ष्मरुपमा बुझ्न र विद्यार्थीलाई बुझाउन माइक्रो सिलेबसले सहयोग गर्छ ।’

तयार गरिएको ‘सुक्ष्म पाठ्यक्रम’ सोमबार सानोठिमीमा आयोजित एक कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवशायिक तालीम परिषदका उपाध्यक्ष डा.कुलबहादुर बस्नेतको उपस्थितिमा परिषदका पाठ्यक्रम महाशाखा प्रमुख दिपकप्रसाद पौडेललाई फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेलले हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै परिषदका उपाध्यक्ष डा.बस्नेतले सरकारले बनाउनुपर्ने सुक्ष्म पाठ्यक्रम सहयोगी नीजि क्षेत्रको फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सले तयार गरिदिएकोमा धन्यवाद दिँदै सरकारले चालु शैक्षिक सत्रदेखि प्राविधिक तथा व्यवशायिक शिक्षालाई उच्च प्राथमिकता दिएकोले त्यसलाई सफल पार्नु सबैको दायीत्व भएको बताए ।

परिषदका सदस्यसचिव पुष्परमण वाग्लेले गुणस्तरीय प्राविधिक शिक्षाका लागि सुक्ष्म पाठ्यक्रम कोशेढुंगा सावित हुने दावी गरे ।

फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेलले नीजि क्षेत्रले परिषदलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै दक्ष प्राविधिक उत्पादन गरि मुलुकलाई समृद्धितर्फ लैजान हरदम प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।