घरेलु हिंसाविरुद्ध विद्यार्थी

807

भक्तपुर
घरेलु हिंसा न्युनीकरणका लागि यसबारे पाठयपुुस्तकमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । ख्वप कलेज भक्तपुरमा वीएसडव्लू प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले भक्तपुरको नगरकोटमा गरेको चारदिने ‘छिमेकी सामाजिक कार्य क्याम्प २०७४’ अन्तर्गत घरेलु हिंसाको बारेमा शुक्रबार गरेको रिपोर्ट प्रस्तुतीकरणमा सहभागीले सहर गाउँ सवैतिर घरेलु हिंसा अझै व्याप्त रहेकोमा दुःख व्यक्त गरे ।
रिपोर्ट सार्वजनिक गर्दै कलेजकी महिमा कर्माचार्याले अध्ययनको क्रममा आफूहरुले त्यहाँं पनि घरेलु हिंसा भएको देखिएको जानकारी गराइन् । क्याम्प सव कोअर्डिनेटर सुजिता श्रेष्ठले पढेलेखेकाहरु आफैं नै घरेलु हिंसामा सहभागी भएको पाइएकाले यसबारे पाठ्यपुस्तकमा राखेर सचेतना जगाउनुपर्नेमा विशेष जोड दिइन् । क्याम्पसमा सहभागी अर्की सहभागी रीना पहिजूले घर परिवार सवैतिर घरेलु हिंसा रहेको जनाइन् ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु हिंसाको मुख्य कारण आर्थिक असमानाता रहेको बताए । ‘पुँंजीवादी राज्यव्यवस्था रहँंदासम्म घरेलु हिसां अन्त्य हुन सक्दैन, न्युनीकरण मात्रै सम्भव छ, उनको तर्क थियो, ‘पैसाप्रधान वन्दोवस्त भएसम्म पैसाले काम गरिरहेको हुन्छ ।’
कार्यक्रममा अधिवक्ता हिमाली राणामगरले महिला हिंसा र कानुनी अधिकारबारे प्रस्तुतीकरण गर्दै घरेले हिंसाको न्युनीकरणका लागि आफू स्वयम सचेत हुनुपर्ने बताइन् । अधिवक्ता एवं मनोविद् नानी थापाले घरेलु हिंसाको विविध पक्षबारे विद्यार्थीलाई जानकरी गराइन् । कलेजका प्राचार्य रुपक जोशी, एमए इन्चार्ज कमिनिका न्याईच्वाईलगायले घरेलु हिंसाको अन्त्यका लागि विद्यार्थीहरुलाई सक्रिय हुन अनुरोध गरे । कार्यक्रममा विद्यार्थीले घरेलु हिंसाबारेको नाटक पनि देखाएका थिए ।