इँटा उद्योगका बालबालिका विद्यालयमा

570

भक्तपुर

चाँगुनारायण– ८, सुडालस्थित श्री सरस्वती माता र महामञ्जुश्री  इँटा उद्योगका श्रमिकका बालबालिका विद्यालय जान थालेका छन्् । बाल विकास समाज र सेभ द चिल्ड्रेन, भक्तपुर ईटा उद्योग व्यवसायी संघको साझेदारीमा सञ्चालित ‘नेपालमा रहेका ईटा उद्योगमा कार्यरत बालबालिका संरक्षण’ परियोजनाअन्तर्गत उनीहरू विद्यालय जान थालेका हुन् ।

सपरिवारसहित श्रमका लागि गाउँ छाडेर उपत्यकाको ईटा उद्योगमा आउँदा बालबालिका वर्षमा ६ महिना पढाइबाट वञ्चित रहने गरेका छन् । गाउँमा ६ महिना विद्यालय जाने र ईटा उद्योगमा भने धेरैजसो बालबालिका अभिभावकलाई सहयोग गर्न बस्दा बीचमै पढाइ छोडनुपर्ने बाध्यता रहिआएको छ ।

अभिभावकमा शैक्षिक चेतना कमी, गरिबी, नयाँ ठाउँका कारण अधिकांश अभिभावक छोरीछोरीलाई विद्यालय भर्ना नगराई इ“टा उद्योगमै बस्ने गरेको पाइएको छ । केही अभिभावकले भने विद्यालय जाने उमेरका छोराछोरीलाई गाउँमै छाडेर आउने गरेको पनि भेटिएको छ ।

बाल विकास समाजले दुई ईटा उद्योगमा २ देखि ५ वर्षसम्मका श्रमिकका छोराछोरीलक्षित गरी दिवा शिशु स्याहार तथा विकास केन्द्र, किशोरकिशोरीका लागि अन्तक्र्रिया, कामदार तथा अभिभावकका लागि सकारात्मक बैठकलगायत शैक्षिक तथा जनचेनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दिवा शिशु स्याहार तथा विकास केन्द्रले नसमेटिएका ५ वर्षमाथिका करिब १५ बालबालिका सोही वडास्थित महेन्द्रग्राम उच्च माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् । समाजको पैरवी तथा पहलमा सुडालस्थित सरस्वती माता र महामञ्जुश्री ईटा उद्योग व्यवसायीको सहयोगमा विद्यालय जाने बालबालिकाका लागि मासिक ३५ हजारमा गाडी व्यवस्था गरिएको छ ।

विद्यालय गएका बालबालिकालाई प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकद्वारा विशेष हेरचार र बालमैत्री वातावरणसाथ पठनपाठन गराइएको छ ।

आफ्ना ईटा उद्योगमा कार्यरत श्रमिकका छोराछोरीलाई शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो प्रयास थालिएको छ । सकारात्मक कार्यलाई अन्य इ“टा उद्योग व्यवसायीले अनुसरण गरे आफ्ना बालबालिका कहिल्यै शिक्षाबाट वञ्चित हुन नपर्ने श्रमिकको विश्वास छ ।

आगामी वर्ष पनि आफ्ना बालबालिका पढाउन उद्योगीले सहयोग गर्ने भए मात्र आफूहरू पेस्की बुझी काममा आउने काभ्रे खनिया पानीका श्याम मानन्धर बताउँछन् ।ईटा पार्न विशेषतः काभे्र, रामेछाप, सिन्धुली, सर्लाही, सिन्धुपाल्चोकबाट उनीहरू आउने गर्छन्् ।  त्यस्तै, रोल्पा, सल्यान, दाङ, जाजरकोटबाट पनि ईटा बोक्न श्रमिक आउने गरेका छन् ।