‘दुईवर्षभित्र सबै विद्यालय बनिसक्छ’ -मन्त्री पोखरेल

276

 

काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १२ बैशाख २०७२ को भूकम्पका कारण क्षति भएका मुलुकभरका सबै सामुदायीक विद्यालयको पुनःनिर्माणको काम २ वर्षभित्र सकिने प्रतिवद्धता जनाएका छन् ।
सोही दिनको भुकम्पले क्षति भएको दरबार हाईस्कुल रानीपोखरीको पुनर्निर्माणको सन्र्दभमा सोमबार आयोजित छलफलका क्रममा मन्त्री पोखरेलले मन्त्रालयले पुननिर्माण प्राधिकरणसंग यथाशिघ्र समन्वय गरी २ वर्षभित्र सुरक्षित विद्यालय निर्माण गरिसक्ने बताए ।
सुविधासम्पन्न विद्यालय र गुणस्तरिय शिक्षा वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने ‘सबै विद्यालय अब प्रविधिमा आधारित भएको विद्यालय हुनेछ ।’
सोही अवसरमा मन्त्री पोखरेलले चीन सरकारको आर्थिक सहयोगमा बन्न लागेको दरबार हाईस्कुलको पुनर्निर्माणको काम सोमबारबाट शुरु भएको घोषणा पनि गरे ।
भुकम्प गएको तीनवर्षसम्म पनि देशकै पहिलो विद्यालयको पुनर्निर्माणको काम शुरु हुन सकेको थिएन । पछिल्लो पटक विद्यालयको नक्सा स्विकृत भएर अनुमति लिने प्रकृया शुरु भएपनि अण्डरग्राउण्ड पार्किङ्कको विवादले निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
विद्यालयले गत २४ बैशाखमा ईजाजतका लागि आवश्यक कागजात महानगरमा पेश गरेको थियो । सोही अनुसार जमीन तहसम्मको निर्माणका लागि ईजाजत पत्र तयार भईसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाले बताए ।
विद्यालय रहेको काठमाडौं महानगरको २७ नं वडाका अध्यक्ष चिनियामान बज्राचार्यले ऐतिहासिक विद्यालयको पुनर्निर्माणमा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले विद्यालयलाई नमूना बनाउन आफूहरु कृयाशिल रहने प्रतिवद्धता जनाए ।
वि.सं १९१० सालमा देशकै पहिलो विद्यालयका रुपमा दरवार हाईस्कुल खुलेको हो । कुनै बेला यहाँ पढ्न राणा अथवा राणाले ईच्छाएका ब्यक्ति नै हुनुपथ्र्यो । २००७ सालमा प्रजातन्त्र आएपछि दरवार हाइस्कुलमा जनताका छोराछोरीले पनि पढ्न पाएका हुन् ।
डेढ शताव्दिभन्दा लामो ईतिहास बोकेको ऐतिहासिक विद्यालयमा हाल १३९ विद्यार्थी अध्ययनरत छन् ।