सुन काण्ड नयाँ मोडमा, मुख्य अभियुक्त गोरे पक्राउ,‘एसएसपी खत्रीलाई पक्रिए सबै रहस्य खुल्छ’

506

काठमाडौं

करिब ३८ क्विन्टल सुन तस्करी काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । सुन तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय समितिले मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पक्राउ परेका मुख्य अभियुक्त ‘गोरे’लाई सार्वजनिक गरेको हो । सार्वजनिक गरेलगत्तै उनलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।

समितिले मोरङ उर्लाबारी–४ स्थायी ठेगाना भएका गोरेलाई काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट मंगलबार बिहान पक्राउ गरेको जनाए पनि उनी भारतबाट पक्राउ परेका बताइएको छ ।

गृह मन्त्रालयका सहसचिवसमेत रहेका छानबिन समितिका संयोजक ईश्वरप्रसाद पौडेलले गौरीघाट क्षेत्रबाट मंगलबार बिहान सुन काण्डका मुख्य अभियुक्त फरार भनिएका गोरेलाई पक्राउ गर्न सफल भएको बताए ।

‘हामीले अत्यन्तै सूक्ष्म संयन्त्र नेपाल तथा भारतका विभिन्न स्थानमा परिचालन गरेका थियौं, खोजी कार्य जारी राखेको अवस्थामा काठमाडौं आइपुगेको विशेष सूचनाका आधारमा मंगलबार बिहान काठमाडौं महानगरपालिका–८ गौरीघाट क्षेत्रबाट गोरेलाई पक्राउ गरिएको हो,’ समितिका संयोजक पौडेलले पत्रकार सम्मेलनमा भने ।

सुन तस्करी र सनम शाक्य हत्याकाण्डको मुद्दा जारी रहेकाले उनलाई सार्वजनिक गरेलगत्तै विराटनगर पु¥याइएको हो । सो विषयमा मोरङ जिल्ला अदालतमा गत १९ जेठदेखि मुद्दा चलिरहेको छ ।

छानबिन समितिका संयोजक पौडेलले विभिन्न आपराधिक समूहको स्थापना, सञ्चालन, मानिस अपहरण, शरीर बन्धक, यातना, हत्या र कर्तव्य ज्यानसहितको मुद्दा संगठित अपराध ऐनअनुसार चलिरहेको समेत जानकारी दिए । गारेलाई पक्राउ गरेलगत्तै छानबिन समितिले प्रारम्भिक सोधपुछसमेत गरेको संयोजक पौडेलले जनाए ।

थप सूचना प्राप्त भएको छ : पौडेल

गोरेलाई पक्राउ गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिका संयोजक ईश्वरीप्रसाद पौडेलले गोरे पक्राउ परेलगत्तै अभियुक्तबाहेक अन्य तथ्य र प्रमाणका विषयमा सूचना प्राप्त भएको बताए ।
उनले सो काण्डमा प्रतिवादी बनाइएका विभिन्न ६५ जनामध्ये ३३ जना फरार रहेको र ३२ जनालाई अदालतमा पु¥याइएको भन्दै पक्राउ परेका मुख्य अभियुक्तबाट थप सूचना प्राप्त भएको बताए ।
‘पक्राउ परेका, फरार रहेका र अदालतमा पु¥याइएकाहरूका विषयमा र अभियुक्तबाहेकका विषयमा समेत गोरे पक्राउपछि थप सूचना प्राप्त भएका छन्, थप सूचना, पुष्ट्याइँ, तथ्य र प्रमाणबाट अनुसन्धान अघि बढ्नेछ, हामी प्राप्त सबै सूचनाको विश्लेषण गर्ने क्रममा छौं,’ उनले भने ।
उनले सुन काण्ड जेरीजस्तै जेलिएकाले जेरीबाट केलाएर सेलजस्तै गरी छुट्याउनुपर्ने अवस्था रहेको भन्दै सूचनालाई विश्लेषण गर्ने क्रममा समिति रहेको जनाए ।
समितिले अनुसन्धानका क्रममा चार वर्षमा ३८ क्विन्टल सुन तस्करी भएको ठहर गरेको छ । त्यस आधारमा नौ जना प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा चलिरहेको छ । गोरे समूहले तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन हराएपछि खोजबिनका क्रममा सनम शाक्यको हत्या भएको थियो । त्यसको छानबिनका क्रममा गोरे र उनको समूह पक्राउ गर्दैगर्दा सुन तस्करीको रहस्य बाहिरिएको हो ।
सुन काण्डमा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयबहादुर राउत, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अम्बरबहादुर थापा र जवान विष्णुबहादुर खड्का पक्राउ परेका छन् ।

२८ जना थुनामा दुई जना छुटे

विराटनगर / रास– जिल्ला अदालत मोरङले ३८ क्विन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित २८ जनालाई थुनामा राख्न आदेश दिएको छ ।

मंगलबारको बहसपछि अदालतले सो आदेश दिएको हो । यस्तै, पक्राउ परेकामध्ये दुई जनालाई भने अदालतले तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशसँगै प्रहरी हवल्दार अम्बरबहादुर थापा र जवान विष्णुबहादुर खड्का मंगलबार रिहा भएका छन् । खड्कालाई १५ हजार धरौटी र थापालाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।

एसएसपी श्याम खत्रीका चालक खड्काले राजीखुसीले तस्करी गरेको नदेखिएको भन्दै तस्करबाट लिएको भनिएको १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश भएको हो । थापा खत्रीका अंगरक्षक हुन् । खड्काले आफ्नो बयानमा थापाले पनि तस्करीको सुन स्कर्टिङमा गर्ने बयान दिएको तर प्रमाणित नभएको र रकम लिएको नदेखिएको भन्दै सहअभियुक्तको पोलका आधारमा थुनामा राख्न र धरौटी लिन नमिल्ने अदालतको ठहर छ । उनी साधारण तारेखमा छुटेका छन् ।

यता, जिल्ला अदालत मोरङको थुनछेक बहसपछि प्रतिवादी बनाइएका पूर्वडीआईजी, बहालवाला एसएसपीदेखि सुन व्यापारीसम्म जेल चलान भएका छन् । जेल चलान हुनेहरूमा पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, भुजुङ गुरुङ, दरोमा खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, सम्बिरप्रसाद तोलांगे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलगायत छन् । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

 

‘एसएसपी खत्रीलाई पक्रिए सबै रहस्य खुल्छ’

सुदीप कोइराला / विराटनगर

 

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले मंगलबारको प्रारम्भिक बयानमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पक्रिए सुन काण्डबारेको धेरै रहस्य खुल्ने बताएका छन् ।

मंगलबार पक्राउ परेलगत्तै बयानका लागि मोरङ जिल्ला अदालत पु¥याइएका गोरेले प्रहरी वरिष्ठ उपरीक्षक खत्रीलाई पक्राउ गरे सुन काण्डबारेको बाँकी धेरै रहस्य खुल्ने बयान दिएका हुन् ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको सूचीमा खत्रीको पनि नाम रहेको छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रुपैयाँ लिएको भेटिएको थियो । तस्करीमा संलग्न अन्य अभियुक्तले पनि एसएसपी खत्रीको नाम लिँदै आएका छन् ।

खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा समेत पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाइ दिएको थियो । पुनः सुनकाण्डमा उनको संलग्नता रहेको पाइएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि हाजिर हुन बोलाएको थियो । तर, उनी फरार रहँदै आएका छन् ।

यस्तै, गोरेले बयानकै क्रममा सुनका लगानीकर्ता मोहन अग्रवाल रहेको समेत खुलाएका छन् ।गोरेले बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिसन लिने भएको भन्दै लगानीकर्ता मोहन अग्रवाल रहेको बयान दिएका हुन् ।

उनले एकै दिनमा ८६ किलोसम्म सुन भिœयाउने गरेको र त्यतिका सुनमा लगानी गर्ने आफ्नो हैसियत नभएको समेत बयानमा बताएका छन् ।

उनले दिएको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेरो पनि लगानी थिएन भन्ने होइन, कमाएको जति पैसा हाल्ने गरेको थिएँ, कहिले काहीँ थोरै परिमाण आफैं पनि ल्याउँथे ।’ उनले सुन हराएपछि आफूलाई दबाब बढेको र आफू सुन खोजीमा लागेको समेत बताएका थिए ।

बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्विकारेका छन् । उनको डायरीमा उल्लिखित विवरणअनुसारको रकम पूर्वडीआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाललगायतलाई दिएको उल्लेख छ । सुन तस्करीबारे अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले गोरेलाई मंगलबार बिहानै काठमाडौंबाट पक्राउ गरेको थियो भने सार्वजनिक गरेलगत्तै विराटनगर ल्याएको थियो ।rajdhani