सातपटक सगरमाथा जितेका दावाछिरी क्यान्सरसंग लड्दै भन्छन—‘गाइड साथीहरु खाली पटेमा हिमाल नचढ्नु’

626

 

बलराम प्यासी
ललितपुर ।
यतिखेर करीव ३ सय ५० स्वदेशी र विदेशीले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरी रेकर्ड राखेका समाचार विभिन्न सञ्चारमाध्यममा छाइरहेका छन् । उनीहरुलाई वधाइको ओइरो लागेको छ ।
तर उता सात÷सात पटक सगरमाथाको सफल आरोहण गरेका दावाछिरी शेर्पा जाउलाखेलको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको २०१ नं क्याविनमा पेट र कलेजोको क्यान्सरसंग लडिरहेका छन् ।


अस्पतालको शैय्यामा ४ दिनदेखि गुमनाम रहेका उनको अस्पतालका अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.मदनकुमार पियाले उपचार गरिराखेका छन ।
यसअघि पटकपटक सगरमाथाको सफल आरोहणपछि विभिन्न सञ्चारमाध्यममा छाउने गरेका ५१ वर्षिय दावाछिरी क्यान्सरसंग लड्दै गर्दा भने उनलाई सोधखोज गर्न किन कोही आउँदैन ? उनको मौन जिज्ञासा छ ।
सन २००० देखि केहीवर्ष अघिसम्म विभिन्न देशका आरोही लिएर उनी मकालुदेखि सगरमाथाको आरोहणमा पुग्थे । आरोहीको केही सामान र आफ्नो सातुसामल बोकेर हिमालमा ठमठम हिँड्ने तिनै शेर्पा अहिले आफुलाई लागेको कुरा भन्न पनि तीनपटक गहिरो सास तान्नुपर्छ ।
लोखिम ९ कुरिमागाउँ सोलुखुम्बुका दावाछिरी सन् १९९५ देखि ट्रेकिंग गाइडको रुपमा हिमाल आरोहण गर्न थालेका हुन । उनले पाकिस्तानको के टु हिमाल एकपटक, धवलागिरी ४ पटक, मनास्लु ५ पटक, चोयु हिमाल ६ पटक, सिसापांग्मा ४ पटक सफल आरोहण गरिसकेका छन ।
मकालु हिमाल ४ चोटी सफल आरोहण गरिसकेका दावाछिरी पाँचौपटकको आरोहणको लागि स्विडेनका एकजना आरोही लिएर गत २ मार्चमा मकालु पुगेका थिए ।
एक्स्पिडिसन हिमालय डटकम ट्रेकि¨ एजेन्सीको तर्फबाट उनी मकालु आरोहणमा गएको सो एजेन्सीका एक्स्पिडिशन डाइरेक्टर दावा ग्याल्जेन शेर्पाले बताए ।
डाइरेक्टर शेर्पाका अनुसार मकालु हिमालको आधार सिविर ‘मनास्लु एबिसि’ मा पुग्दा अकस्मात पेट दुखेकोले उनलाई आकस्मिक उद्धार गरि हेलिकोप्टरबाट १६ मार्चमा काठमाडौंमा ल्याइएको थियो ।
विभिन्न अस्पतालमा स्वास्थ्य परिक्षण र उपचार गरेर पछिल्लोपटक बायोप्सी र सिटिस्क्यान गरेपछि मात्रै उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । सोमबारमात्रै उनलाई नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा क्यान्सरको उपचारको लागि भर्ना गरिएको उनको उपचारमा संलग्न वरिष्ठ क्यान्सर विशेषज् डा.पियाले बताए ।
पटकपटक हिमाल आरोहणका क्रममा समयमा खाना नखाँदा पेटमा ग्यास्ट्रिक भएर अल्सर भएको र त्यसपछि क्यान्सर भएको हुनसक्ने डा.पियाले बताए । डा.पियाका अनुसार पेटको क्यान्सर कलेजोसम्म फैलिएर उनी कमजोर भएकोले हाललाई क्यान्सरको साधारणमात्रै उपचार गरिएको छ ।
सोमबारमात्रै आफुलाई क्यान्सर भएको पत्ता लागेको स्विकार्दै सगरमाथा आरोही दावाछिरी भन्छन—‘हिमाल चढ्दा प्रायःभोकभोकै बसेको नतिजा अहिले क्यान्सरसम्म पुग्यो ।’
आफुलाई क्यान्सर निको हुनेमा ढुक्क देखिएका उनी ट्रेकि¨ लाइनमा हिँड्ने थुप्रै शेर्पा साथीहरुलाई समयमै खाना खान र आफ्नो स्वास्थ्यको बारेमा पहिलो प्राथमिकतामा राख्न अस्पतालको शैय्याबाटै सुझाव दिन्छन—‘म त क्यान्सरबाट थलिएँ, अरु ट्रेकि¨ गाइड साथीहरु भोकभोकै बस्दा उनीहरुलाई मेरोजस्तो क्यान्सर नहोस ।’
दावाछिरीको वरिपरि यतिखेर सरकारको तर्फबाट कोही उपस्थित नभएपनि उनकी पत्नि पेमा दिकी शेर्पा, छोराहरु नवांग जांगबु, तेन्जी र सोना गुरेमन शेर्पाका साथै उनका भाई र वहिनी अस्पतालमा पालो दिँदै आएकाछन् ।
दावाछिरीका आफन्त गुनासो र्गछन—‘सात÷सात पटक सगरमाथाको सफल आरोहण गरि देशको नाम अन्तर्राष्ट्रिय जगतमा उँचो राखेका आरोही दावाछिरी अस्पताल भर्ना हुँदा सरकारको तर्फबाट कोही नआउनु र उपचारको बारेमा चासो नराख्नु अत्यन्त दुःखद कुरा हो । ’