मुलुक सुशासन र विकासको बाटोतर्फ उन्मुख : प्रधानमन्त्री ओली

522

बलराम प्यासी

ककनी, नुवाकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेपछि मुलुक अब सुशासन र विकासको बाटोतर्फ उन्मुख भएको बताएका छन् ।

नेपाल स्काउटका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले आफुले अबको नारा समृद्ध नेपाल र सुखी नेपाली राखेको उल्लेख गर्दै अबको हाम्रो यात्रा समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको बताए ।

‘नेपाललाई गरीव राष्ट्र होइन सन्पन्न राष्ट्रको रुपमा चिनाउन हामी कटिवद्ध छौं’—उनले भने ‘हामी गरीव नेपाल हैन, सम्पन्न नेपाल, दुःखी नेपाली हैन, समृृद्ध नेपाली बनाउन चाहन्छौं । ’

नेपाल स्काउटको आयोजनामा ककनीस्थित नेपाल स्काउटको अन्तराष्ट्रिय तालीम केन्द्रमा बुधबारदेखि शुरु भएको तेस्रो नेपाल स्काउट ज्याम्बोरी (स्काउटहरुको महाभेला) को बिहीबार विधिवत् उद्घाटन गर्दै उनले स्काउटले अनुशासन, एकता, राष्ट्रिय भावना, पारस्पिरिक एकता, सहिष्णुता, आपसमा मित्रता सिकाउने मात्रै नभई विघ्नतालाई सहन पनि सिकाउने भएकोले मुलुकको समुन्नति र विकासको लागि स्काउट आवश्यक भएको बताए ।

आफुपनि केटाकेटी अवस्थामा (२०२५ सालतिर) विद्यालयमा पढ्दा स्काउटमा संलग्न रहेको चर्चा गर्दै उनले त्यतिखेर आफुले अरु स्काउटले जस्तै मार्चपास खेल्नेदेखि स्काउटका विभिन्न कृयाकलापमा संलग्न रहेको बताए । ‘म अहिले भूतपूर्व स्काउट हुँ’ उनले भने ।

सरकारले मंगलबार प्रस्तुत गरेको वजेट वक्तव्यमा जेष्ठ नागरिकहरुलाई भत्ता नबढाएको प्रति विभिन्न प्रतिकृया आएकोमा एकशब्द पनि सम्बोधन नगरी ओलीले वर्तमान सरकार वालवालिका र युवाहरुको लागि काम गरिराखेको उल्लेख गर्दै उनीहरुले मुलुकलाई समृद्ध बनाउन सहयोग गर्ने पनि बताए । स्काउटले मतिभ्रष्टता सिकाउँदैन, सुमार्गतर्फ जान सिकाउँछ उनले भने ।

विविधतायुक्त हाम्रो देशमा पारस्पिरिक सहिष्णुता, सहनशिलता, समझदारी, एकअर्कामा विश्वास र हाम्रो विविधतालाई हाम्रो सम्पन्नताको रुपमा लिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने ‘हाम्रो विविधता दुर्लभ कुरा हो, यसलाई वैमनस्यता कलह र झगडाको विषयमा नभई हाम्रो समृद्धि र सम्पन्नताको विषय बनाउनुपर्छ ।’

उनले नेपाल र विश्वमा स्काउटको स्थापना र विकासको इतिहासबारे चर्चा गर्दै नेपालमा स्काउटको विकास, विस्तार र सुदृढीकरण, व्यापकता, गुणस्तर र संख्या वृद्धि गर्न सरकार चाहन्छ । स्काउटको सम्पत्तिको सुरक्षा र सदुपयोगमा सरकारको ध्यान दिने उल्लेख गर्दै स्काउटको सम्पत्ति कसैले अनुचित र गलत ढंगले प्रयोग गर्न र संस्थालाई हानी गर्न नसक्ने चेतावनी दिए ।

स्काउट स्वच्छ संस्था भएकोले यसले भ्रष्टाचार गर्ने विषयमा सोच्न र कल्पना गर्न नसक्ने र यदि यसमा कसैले भ्रष्टाचार गर्न खोज्छ भने त्यो ठुलो गल्ती हुन्छ, उनले भने ।

प्रधानमन्त्री ओलीले ज्याम्बोरीको कृयाकलापस्थलको अवलोकन गर्नुका साथै स्काउटको स्तम्भको पनि अनावरण गरेका थिए । प्रधानमन्त्री ओलीलाई ज्याम्बोरीको विविध विषयमा क्याम्प उपसमितिका संयोजक तथा राष्ट्रिय तदर्थ समितिका सदस्यहरु देवदूत अधिकारी, दिपेश केसी र शरण महर्जनले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल स्काउटका प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले तेस्रो नेपाल स्काउट ज्याम्बोरीको बारेमा चर्चा गर्दै यसको सफलताको कामना गरे ।

नेपाल स्कउटका राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले ज्याम्बोरीमा नेपालका साथै भारत, बंगलादेश र भुटानबाट स्काउटहरु सहभागी भएको जानकारी दिँदै स्काउटले १ वर्षको अवधिमा गरेको कामकारवाहीबारे बताए ।

विभिन्न ४० थरीका कृयाकलाप समावेश गरिएको सो ज्याम्बोरी २१ जेठसम्म चल्नेछ ।