ग्रामर स्कुलमा बेलायती विद्यालयको चासो

306

काठमाडौं ।
बेलायतको केन्ट राज्यमा रहेको वेफिल्ड प्राइमरी स्कुलका प्रिन्सिपलसहित ३ जना शिक्षक कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुलको चारदिने अध्ययन, अवलोकन भ्रमणपछि शुक्रबार स्वदेश फर्केका छन् ।
प्रिन्सिपल टिम विलियम्स तथा शिक्षिकाद्धय केली बेल र सामन्थ डेनभर सहितको टोलीले ग्रामर स्कुलका विद्यार्थी तथा शिक्षकहरुसंग अन्तरकृया गर्नुको साथै बेलायतको शिक्षण तथा सिकाई विधिबारे अनुभव साटेका थिए ।
बेलायतको वेफिल्ड स्कुलमा हाल २५९ विद्यार्थी अध्ययनरत छन् भने ग्रामर स्कुल तथा कलेजमा गरि करीव १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।


बेलायती शिक्षक टोलीले ग्रामर स्कुलको समाजसंग सम्वन्ध, स्कुलले सामाजिक क्षेत्रमा गरेको योगदान लगायतका विषयमा स्थानीयवासी वरिष्ठ पत्रकार बलराम प्यासी, समाजसेवी एवम् राजनैतिक दलका नेता कृष्ण केसी र समाजसेवी रवि रिमालसंग अन्तरसंवाद गरेको थियो ।
सोही क्रममा बेलायती टोलीले कोटेश्वर सरस्वती मावि स्रोत केन्द्रका स्रोत व्यक्ति राजन थापा र विद्यालय निरीक्षक मोति भट्टराईसंग पनि ग्रामर स्कुलको बारेमा थप जानकारी लिएका थिए ।


टोलीले विद्यालयसंग नजिक रहेको सामाजिक संस्था सामुदायिक सेवा तथा विकास समाज र सामुदायिक प्रहरी सेवा कोटेश्वरको कृयाकलापबारे जानकारी लिनुका साथै सामुदायिक विद्यालय सरस्वती मावि कोटेश्वरका विदार्थी र शिक्षकसंग समेत भेटघाट गरेको ब्रिटिस काउन्सिलद्वारा स्थापित अन्तर्राष्ट्रिय स्कुल एवार्ड (आइएसए) कायत्र्रmमका ग्रामर स्कुल संयोजक ऋषि सुवेदीले बताए ।
ग्रामर स्कुलले यो वर्ष ब्रिटिस काउन्सिलको आइएसए पुरस्कार आयोजनाको लागि विभिन्न अन्तराष्ट्रिय क्षेत्रका विद्यालयसंग सम्वन्ध विस्तार गर्ने क्रममा बेलायती शिक्षकहरुलाई विद्यालयमा निमन्त्रणा गरेको हो ।
नेपाली र बेलायतको विद्यालयको सम्वन्ध दुवै देशका विद्यालयमा पढाइने तथा सिकाउने विधि, कक्षाकोठा, खेलमैदान, विद्यार्थीका अतिरिक्त कृयाकलाप, पढाइको अतिरिक्त अन्य विधामा विद्यार्थीको रुचिलगायतका विषयमा कनेक्टिंग क्लासरुम मार्फत अनुभव आदानप्रदान गर्ने गरिन्छ ।


ग्रामर स्कुलमा आएका वेफिल्ड प्राइमरी स्कुलका प्रिन्सिपल तथा शिक्षकलाई ग्रामर पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल राजकुमार राई, ग्रामर कलेजका डा.जीवन खड्का, भाइस प्रिन्सिपल सुदर्शन पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई, निर्देशकद्वय दिलेन्द्रकुमार राई, भरतकुमार राई, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्ग, नेपाली विभाग प्रमुख आनन्दकला राई तथा आइएसए संयोजक ऋषि सुवेदीले विद्यालयको तर्फबाट उपहार प्रदान गर्दै विदाई गरेका थिए ।