‘क्यान्सर उपचारपछि स्तनको आकार मिल्दा दंग’

995

बलराम प्यासी
काठमाडौं ।
स्तन क्यान्सरको उपचारपछि क्यान्सर ठीक हुँदा भन्दा आफ्नो स्तनको आकार प्रकार पुरानै अवस्थामा फर्किँदा क्यान्सरपीडित युवती र महिलाहरु बढी दंग पर्ने गरेको पाइएको छ ।
महिलाको मुख्य आर्कषणको रुपमा रहेको स्तन नै क्यान्सरका कारण स्तन काटेर फ्याक्नुपरेपछि महिलाहरु अत्यन्त निरास, हतोत्साही र तनावमा आउने गरेकोमा प्लाष्टिक सर्जरी या कस्मेटिक उपचार ‘अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी’ पछि भने उनीहरु दंग पर्न थालेका हुन ।
पहिलो र दोस्रो चरणका स्तन क्यान्सरका विरामीको अवस्था अनुसार औषधि उपचार (केमोथेरापी) र रेडियोथेरापि गर्दा स्तन क्यान्सर ठीक नभएपछि उनीहरुको स्तन नै काट्नुपर्ने वाध्यता पर्ने चिकितसक बताउँछन ।
तैपनि पछिल्लो समयमा स्तनमा क्यान्सर भएका युवती या महिलाको स्तनको आंशिक भाग काटनुपरेता पनि विशेषज्ञ शल्यचिकित्सकले महिलाको पुरानै आकारप्रकार (साइज र सेप) को स्तन बनाइदिने गरेका छन् ।
चिकित्सकीय भाषामा ‘अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी’ भनिने सो उपचारविधि क्यान्सर भएको स्तनको भागलाई काटेर फ्याँकेर सो भागमा प्लास्टिक सर्जरी या कस्मेटिक सर्जरी गरी उस्तै स्तन बनाउनु हो ।
राजधानीका केही क्यान्सर अस्पतालमा यो सेवा उपलब्ध भएतापनि नेपाल क्यान्सर अस्पतालमा ‘अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी’ गर्ने विरामीको संख्या दिनँहू बढीरहेको सो अस्पतालको स्तन र क्यान्सर विशेषज्ञ डा.कपेन्द्र शेखर अमात्यले बताए ।
नेपालमा भर्खरै सुरु भएको अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी सो अस्पतालको एक प्रमुख उपचार सेवामा पर्ने बताउँदै डा.अमात्यले स्तन क्यान्सरको शल्यक्रिया गर्दा पुरै स्तन फाल्नुको सट्टा स्तनलाई बचाउनु नै अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीको उद्देश्य रहेको बताए ।
स्तन क्यान्सर भएपछि पहिला आफु बाँच्नको लागि पुरै स्तन काट्न तयार हुने महिलाहरु उपचारपछि क्यान्सर निको हुँदा भने आफ्नो गुमेको स्तन हेरेर निरास हुने गरेको पाइएकोले अस्पतालले अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी सेवा शुरु गरेको अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले बताए ।
शल्यचिकित्सक डा.अमात्यका अनुसार सो अस्पतालमा पछिल्लो समयमा करीव २५० जना स्नत क्यान्सरको शलयक्रिया उपचार गरिएका युवती र महिलामध्ये करीव ११० जनाको स्तन ‘अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी’ गरि पुरानै आकारप्रकारमा फर्काइएको छ । जसबाट क्यान्सर ठीक हुँदा भन्दा आफ्नो स्तनको आकार प्रकार पुरानै अवस्थामा फर्किँदा युवती र महिलाहरु दंग पर्ने गरेका छन ।
त्यसो त अस्पतालले ‘अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी’को साथै
क्यान्सरको शल्यक्रियाको क्रममा पुरै ट्युमर निकालियो कि निकालिएन भन्ने तुरुन्त जाँच गर्न मिल्ने ‘फ्रोजन सेक्सन’ उपचार विधिले सबैप्रकारको शल्यक्रियाको गुणस्तर बढाएको पनि डा.अमात्यले बताए ।
पछिल्लो समयमा खानपीन, हर्माेन, परिवार नियोजनका अस्थायी साधन (खानेचक्की ) को प्रयोग लगायतका कारण २० वर्षका युवतीदेखि ४०वर्षका महिलाहरुमा स्तन क्यान्सर बढी मात्रामा पाइएको पनि डा.अमात्यले बताए ।