फिफाद्वारा इंगल्याण्डमाथि जरिवाना

424

काठमाडौं । फिफाले इंगल्याण्डमाथि १६ हजार स्टर्लिङ पाउण्ड बराबरको जरिवाना लगाउने निर्णय गरेको छ । इंगल्याण्डको यू–२० टोलीका खेलाडीले कोरियामा भएको विश्वकपमा स्पोन्सर नगरिएको ‘इनर्जी ड्रिंक्स’को प्रयोग गरेको भन्दै फिफाले उक्त जरिवानाको निर्णय गरेको हो ।

इंगल्याण्ड फुटबल संघले भने फिफाको यो निर्णयमा असन्तुष्टि जनाएको छ । अघिल्लो वर्षको युवा विश्वकपमा इंगल्याण्डका खेलाडीहरुले रेड बुलको प्रयोग गरेको पाइएको थियो । फिफाको आधिकारिक ‘इनर्जी ड्रिंक्स’ कोकाकोलाको उतपादन रहेकोमा बेलायती खेलाडीहरुले त्यसको अवज्ञा गरेको भन्दै उनीहरुलाई जरिवाना लगाउने निर्णय गरिएको हो ।

बेलायती सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार इंगल्याण्डको फुटबल संघले भने यो निर्णयमा आफू निकै निराश रहेको जानकारी दिएको छ । यस वर्षको सुरुवातमा रसिया र फ्रान्सको खेलमा रंगभेदी व्यवहार भएको भन्दै रसियालाई फिफाले २२ हजार पाउण्डको जरिवानाको निर्णय गरेको थियो ।

इंगल्याण्डले अहिले फिफाले लगाएको जरिवाना सन्तुलित नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । रसियामाथि लगाइएको जरिवानाको तुलनामा बेलायतको जरिवाना केवल छ हजारले कम हो । यसले फिफाले रंगभेदी व्यवहारलाई सामान्यरुपमा लिएको देखाएको अधिकारीहरुले आरोप लगाएका छन् ।