वागीश्वरीद्वारा स्थानीय गुठी नाइकेहरुलाई सम्मान

532

भक्तपुर,– शैक्षिक दृष्टीले अन्धकारमय तत्कालीन अवस्थामा विद्यालयको स्थापना र दिगो विकासका लागि पुर्याएको योगदानको कदर गर्दै वागीश्वरी माविको हीरक वर्ष २०७५ को उपलक्ष्यमा मंगलबार स्थानीय गुठीहरुको सम्मान गरेको छ ।
भक्तपुर च्याम्हासिंहस्थित वि.सं. २००९ जेठ २९ गते वागीश्वरीको स्थापना भएपनि नियमित रुपमा वि.सं.२०१५ सालबाट आधिकारिक रुपमा सुरु भएको थियो । पराल र छ्वालीको छाना र सूर्यमढी दबूबाट सुरु भएको उक्त विद्यालयको आजको अवस्थासम्ममा ल्याउनमा स्थानीय टोलवासीहरुको ठूलो योगदानको कदर गर्दै यस वर्षको १२ महिनामा १२ वटै कार्यक्रम गरी हीरक वर्ष मनाइरहेको हो ।
कार्यक्रममा १३ वटा गुठीका ३७ जना नाइके र बहिदारहरुलाई प्रमुख अतिथि एवम् भक्तपुर नगर कार्यपालिकाका प्रमुख सुनिल प्रजापतिले घण्टा र नगदसहित सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तिहरुलाई बेताली लगाई प्रमुख प्रजापतिले देशको निम्ति आवश्यक जनशक्ति भक्तपुरका स्कूल र कलेजबाट तयार गरिरहेको स्मरण गराउँदै पुराना अग्रज र नेपाल मजदुर किसान पार्टीले लिएको विचारअनुसार अघि बढेको बताउनुभयो । उहाँले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम ल्याउने बताउँदै विश्वका कमै मान्छेले सिक्ने ३ भाषा भक्तपुरका जनताले सिकिसकेको र पर्यटकको वृद्धिसँगै विदेशी भाषाको तालिम दिइरहेको बताउनुभयो । जनप्रतिनिधिका रुपमा भक्तपुर नगर पालिकामा गएपछि विश्वको पर्यटकीय क्षेत्र भक्तपुरलाई चिनाउन सम्पदा संरक्षण, पुनर्निर्माण एवम् शिक्षा र स्वास्थ्यलगायतका जनचासोका विषयमा ध्यान दिइरहेको जानकारी दिनुभयो । उहाँले भक्तपुरमा परापूर्वकालबाटै स्मार्ट सिटीको अवधारणा अनुसार शहरी विकास भैसकेको जनाउँदै पर्यटकीय गन्तव्यका रुपमा विकास भैरहेको बताउनुभयो । साथै उहाँले क्षतिको विश्लेषण नगरी कुनै निर्माण भएमा फेरि पनि क्षति हुनसक्ने भएकाले पुराना संरचना भत्काउन अध्ययन अनुसन्धान गरिरहेको र नगरपालिकाले युवालक्षित तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति वागीश्वरी माविका अध्यक्ष रविन्द्र ज्याख्वले देशका विभिन्न भागबाट आएका विद्यार्थीहरुले आफ्नो भविष्य यस स्कूलबाट बन्ने देखेर नै वागीश्वरीप्रति विश्वास गरिरहेको बताउनुभयो । साथै अन्य विद्यालयभन्दा तुलनात्मक रुपमा यस विद्यालय अगाडि बढ्नुको श्रय स्थानीय अग्रजलाई दिनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको हालसम्मको प्रगति प्रतिवेदन पेश गर्नुभयो । उहाँले वागीश्वरी माविको इतिहासदेखि वर्तमानसम्मका कुरालाई स्पष्ट पार्नुभयो । सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले देशको उत्कृष्ठ विद्यालयको रुपमा सफल बनाउन स्थानीयको योगदानको चर्चा गर्दै १ करोड ३१ लाख रुपैयाँको भवन बनाउन सरकारको १ पैसा लगानी नभएको बताउनुभयो । हीरक वर्षको कार्यक्रम संयोजक समेत रहेका उहाँले यस वर्षको शैक्षिक सत्रमा ४५४ जना विद्यार्थी भर्ना भएको चर्चा गर्नुभयो । कार्यक्रममा शिक्षक राजन लाखाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा तःगुठी मुर्दा गुठी, मारी गुठी, थिल्ला गुठी, न्हुँ गुठी, चुः गुठी, तः गुठी, नासननी सीः गुठी, सीः गुठीलगायतका १३ वटा गुठीका नाइके र बहिदारहरुलाई सम्मान गरेका थिए ।