बलराम प्यासी
काठमाडौं।
शनिबार घोषणा गरिएको माद्यमिक शिक्षा परिक्षा (एसइइ) मा नयाँबानेश्वरस्थित काव्य स्कुलकी छात्रा शिवात्मिका सिंह प्रधानले ४ जिपिएमा ४ अंक (पुर्णांक) हासिल गरि विद्यालय प्रथममात्रै नभई मुलुकभरीमै ४ जिपिए अंक ल्याउने सीमित विद्यार्थीभित्र आफ्नो नाम राख्न सफल भएकी छिन् ।
योग तथा विपश्यना प्रशिक्षक शर्मिला श्रेष्ठ प्रधान तथा व्यवसायी अनुजसिंह प्रधानकी एक्ली छोरी शिवात्मिका सिंह विद्यार्थीहरुमा अनिवार्यरुपमा हुनैपर्ने एकाग्रता, ध्यान र अनुशासनकै कारण परिक्षामा पुर्णांक ल्याउन सफल भएको विद्यालय र अभिभावकको दावी छ ।
पढाईप्रतिको एकाग्रता, लगनशिलता, मिहेनत, ध्यान, अनुशासन तथा राम्रो र शुद्ध अक्षरका कारण उनले एसइइमा परिक्षामा शतप्रतिशत अंक ल्याएको विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताए ।
पौडी र साईक्लिंगका साथै नयाँ ठाँउ घुम्न जान (हाइकिंग र ट्रेकिंग) मन पराउने शिवात्मिका सिंह काव्य स्काउट ट्रुपकी अनुशासित ‘अन्नपूर्ण तह’की छात्रा हुन ।
आफ्ना विद्यार्थीलाई प्रवेशिका परिक्षामा सहभागी गराएको सातवर्षे इतिहास बोकेको काव्य स्कुलबाट पहिलोपटक शिवात्मिका सिंहले पुर्णांक हासिल गरि विद्यालयमा मात्रै नभई नेपालभरी नै आफ्नो नाम राख्न सफल भएको विद्यालयको दावी छ ।
२०७४ सालको एसइइ परिक्षामा शिवात्मिका सिंह पहिलो भइन नै । यसको अलावा काव्य स्कुलबाट सुसम न्यौपाने, एरिना बज्राचार्य र शिशिर कँडेलले ३ दशमलव ९० जिपिए ल्याएर विद्यालय दोस्रा भएका छन् । परिक्षामा सहभागी ५६ विद्यार्थीले उच्च अंकका साथ परिक्षा उतिर्ण गरेको विद्यालयले जनाएको छ ।
उच्च अंकका साथ विद्यालयमा मात्रै नभई मुलुकभरीबाट उत्कृष्ट भई ४ जिपिए ल्याउन सफल काव्य स्कुलकी छात्रा शिवात्मिका सिंहका साथै उतिर्ण सबै विद्यार्थीलाई काव्य स्कुलले सोमबार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि वधाई तथा सम्मान गर्यो ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, सुनिल सिंह घर्ती, रिजन खड्का तथा शिक्षकहरुले वधाई तथा शुभकामना दिएका थिए ।
विद्यालयमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा शिवात्मिका सिंहकी ममी शर्मिला श्रेष्ठ प्रधान, बाबा अनुजसिंह प्रधान, हजुरबुबा यज्ञलाल श्रेष्ठ (मामाघरतर्फ) र हजुरआमा सानुमैंया प्रधान (घरतर्फ) सहभागी थिए ।
सानो कक्षादेखि नै पढाईमा अव्वल तथा राम्रो अक्षर लेख्न खप्पिस रहेकी शिवात्मिका सिंह हाल वाणिज्य विषय लिएर रातो बंगला स्कुलमा ‘ए लेभल’ अध्ययन गर्दैछिन ।