भक्तपुर ।
एआर समूहले भक्तपुरमा एकैपटक पाँच पसल सञ्चालनमा ल्याएको छ । उसले भक्तपुर नगरपालिका १ दूधपाटीमा मः मः एण्ड पिजा घर, कस्तुरी फेसियल एण्ड सैलुन, अस्री २.६ कलेक्सन, पटुका बुटिक र ०१०१ ट्याटु स्टुडियो सञ्चालनमा ल्याएको हो ।
मःमः एण्ड पिजा घरमा नेपाली अर्गानिक कफीसमेत पाइने समूहले बताएको छ । करिब डेढ करोड लगानीमा ती चेन पसलहरु सञ्चालनमा ल्याएको एआर समूहकी सञ्चालिका अनु गिरी बताउँछिन् । उनले भक्तपुरमा रहेका चेन पसल तथा अन्य व्यवसायको अध्ययन गरेरमात्रै आफूहरु सार्वजनिक रुपमा अघि बढेको बताइन् ।
‘उपभोक्ताहरुको जीवनशैली तथा खानपानमा धेरै परिवर्तन आइसकेको छ’, उनले भनिन्, ‘त्यसैलाई सम्बोधन गर्न अहिलेको आवश्यकताहरु एकै ठाउँमा उपलब्ध गराउने गरी पाँच वटा फरकफरक पसल सञ्चालनमा ल्याएक हौं ।’
युवायुवतीहरुको चाहना र मागबमोजिम एआर समूहले भक्तपुरसँगै काठमाडौं, ललितपुर र काभ्रेमा आफ्नो चेन व्यवसाय विस्तार गर्ने समूहका अर्का सञ्चालक रविन अवालले सुनाए ।
उनले यसैवर्षभित्र भक्तपुरमा थप दुईवटा चेन पसल खुल्ने जानकारी दिए ।
‘यस वर्षमा भक्तपुरमा थप दुईवटा चेन पसल खोल्छौं’, सञ्चालक अवालले भने, ‘अबको दुई वर्षभित्र काठमाडौं, पाटन र बनेपामा गरी पाँचवटा चेन पसल सञ्चालनमा ल्याउने लक्ष्य छ ।’
उनले व्यवसायसँगै समूहको चेन पसललाई आवश्यक जनशक्तिसमेत आफैले तयार गर्ने सोच रहेको सुनाए ।
‘आजभोलि दक्ष जनशक्ति पाउन समस्या छ’, उनले भने, ‘त्यसैले दक्ष जनशक्ति तयार गर्न चेन व्यवसायसँगै तालिम केन्द्र सञ्चालन गर्ने हाम्रो सोच रहेको छ ।’
यसको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा प्रक्रिया अगाडि बढाइएको सञ्चालन अवाल बताउँछन् ।
हाल सञ्चालनमा आएका पाँचवटा पसलमा २१ जना युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, लायन्स क्लव अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखूले रिबन काटेर उद्घाटन गरेका थिए ।