काठमाडौं । महानगरी प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले काठमाडौं उपत्यकालाई अपराध, यौनजन्य कृयाकलाप, मदिरा र लागु औषध मुक्त बनाई शान्त उपत्यका बनाउने कार्यलाई कार्यान्वयन गर्न सबै जनताले प्रहरीलाई सघाउन आग्रह गरेका छन् ।
सामुदायिक प्रहरी सेवा १०, ३१ र ३२ वडाको सहयोगमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले शनिबार आयोजना गरेको ‘टोलटोलमा प्रहरी अभियान कार्यक्रम २०७५’लाई सम्वोधन गर्दै नायव महानिरीक्षक न्यौपानेलेले सो कुरा बताएका हुन ।
उनले पहिलो चरणमा महानगरको १०, ३१ र ३२ नं वडामा शुरु गरिएको सो अभियानलाई वडावासीले आफुहरु पनि वर्दी विनाको प्रहरी भएकोले अभियानलाई नेपाल प्रहरीको सो अभियानलाई सफल बनाउनु सबैको दायित्व भएको बताए ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले नेपाल प्रहरी मुलुकमा शान्ति सुरक्षा स्थापना गर्दै सुसासन कायम गर्न कठिवद्ध रहेको कुरामा जोड दिँदै अब टोलटोल, घरघर र कोठा कोठामा नेपाल प्रहरीको पहुँच पुग्ने बताए ।
प्रहरीलाई जनताको सूचना आवश्यक रहेको बताउँदै अपराध मुक्त समाज बनाउन विनावर्दीका प्रहरीका रुपमा रहेका जनताले सहयोग गर्नु पर्ने कुरामा जोड दिए । प्रहरी पोशाक, हतियार र कानूनी अधिकार सम्पन्न कानून कार्यान्वय नगर्ने सरकारीे प्रतिनिधि भएकोले त्यसलाई सदुपयोग गर्न प्रहरीलाई सघाउन पनि पोखरेलले आग्रह गरे ।
सामुदायिक सेवा तथा विकास समाज कोटेश्वरकी अध्यक्ष मन्सुरी मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, डिएसपि गोेविन्दराज काफ्ले, काठमाडौं महानगरपालिका ३२ नं वडाका अध्यक्ष नवराज पराजुली लगायत एकदर्जन वक्ताले टोलटोलमा प्रहरी अभियानका बारेमा आआफ्नो धारणा राखेका थिए ।
यसअघि तीनै वटा वडामा रहेका विद्यालयका विद्यार्थी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित एक वृहत र्याली मिनभवनबाट आयोजना गरिएको थियो ।







































