उपत्यकाका २० हलमा बक्स अफिस प्रणाली लागू

447

काठमाडौं– नेपाली फिल्म बजारमा आर्थिक वर्ष २०७५/७६ को सुरुवातसँगै बक्स–अफिस प्रणाली लागू भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बासकोटाले मंगलबार नेपाल चलचित्र विकास बोर्डमा उपस्थित भई बक्स अफिस प्रणालीको उद्घाटन गरेका हुन्। कार्यक्रममा मन्त्रीसहित अग्रज कलाकार्मी, निर्देशक, निर्माता, हलवाला र वितरकहरुको उपस्थिति रहेको थियो।

साउन १ बाट उपत्यकाका ९ सिङ्गल थिएटरमा र ११ मल्टिप्लेक्स गरी २० हलमा बक्स अफिस लागू भएको हो। आउँदो माघ १ बाट देशभरि नै बक्स अफिस लागू गर्ने योजना अनुसार काम भइरहेको मन्त्री बासकोटाले बताए।

उनले विगत लामो समयदेखि बहसको विषय बनिरहेको बक्स–अफिस प्रणाली कार्यान्वयनमा आएसँगै नेपाली फिल्म उद्योग पनि एक खट्किलो उक्लिएको बताए। मन्त्री बासकोटाले भने, ‘नेपाली फिल्म निर्माताहरुको वर्षौंदेखिको गुनासो अब अन्त्य भएको छ। फिल्म बनाएर आफ्नो जायजेथा सकेर सडकमा आउने अवस्थाको अब अन्त्य हुन्छ।’

कुन–कुन हलमा लागू भयो बक्स अफिस?

मल्टिप्लेक्स

सेन्ट्रल सिनेमा प्रालि, सुन्धारा
सिने–डि सेफ, सुन्धारा
सिनेमार्क (क्युज) मुभिज, दरबारमार्ग
जय नेपाल नक्साल
म्याक्स इन्टरटेन्मेन्ट, बागबजार
सिने स्टार प्रालि (बिग मुभिज), कमलपोखरी
कुमारी हल, कमलपोखरी
केएल सिनेमा सिटी, चुच्चेपाटी
सार्थक इन्टरटेन्मेन्ट (बिएसआर मुभिज), गोंगबु
ललित सिनेमा (लविम), पुल्चोक
क्युएफएक्स छाया, ठमेल

सिङ्गल थिएटर

पृथ्वी चलचित्र मन्दिर प्रालि, बौद्ध
श्री सिद्धार्थ सिनेमा प्रालि, बौद्ध
गोपीकृष्ण मुभिज, चावहिल
अष्टनारायण पिक्चर्स, बालाजु
कलंकी चलचित्र मन्दिर, कलंकी
गुण सिनेमा, ग्वार्को
बाराही मुभिज, सूर्यविनायक
विश्वज्योति, जमल
गंगा चलचित्र मन्दिर, बालाजु