अनशनपछि बल्ल बन्यो सडक

367

सीपी लोहिया/बैतडी  ।
दशरथचन्द नगरपालिका–१ खाल निवासी वृद्ध अनशनमा बसेपछि स्थानीय तहले सडक निर्माण गरेको छ । ७८ वर्षीय वृद्ध हरिजितसिंह टेर सडक निर्माणको माग गर्दै गत १४ देखि १७ जेठसम्म सडकमै अनशन बसेका थिए ।

बजेट विनियोजन गरिएको भए पनि गाउँलेकै विरोधका कारण सडक निर्माण हुन सकेको थिएन भने विनियोजित बजेटसमेत अन्यत्रै रकमान्तरण गर्ने प्रक्रिया वडा कार्यालयले सुरु गरेको थियो । तर, वृद्धको अनशनपश्चात् वडा कार्यालयको पहलमा स्थानीय नागरिकले सडक खन्ने सहमति दिए । सबैको सहमतिपछि अहिले गुरुखोलादेखि खालसम्मको ग्रामीण सडक निर्माण भएको छ ।

टेर भन्छन्, ‘आज मेरो घरकै बाटो भएर हाम्रो गाउँदेखि थप १ किलोमिटर सडक खनिएको छ, म निकै खुसी छु, सडकका लागि छुट्याइए पनि अन्तै रकमान्तरण गरिन्थ्यो, गाउँ परिषद्मा मैले सडकको माग गर्दा मलाई विरोधीहरूले खुकुरीसमेत देखाए तर म पछि हटिनँ ।’
टेर अनशन बसेकै कारण गाउँलेहरू सडक खन्नका लागि जग्गा दिन पनि सहमत भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले बताए । उनले भने, ‘सडकका लागि वडा कार्यालयबाट १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थियौं तर त्यहाँका नागरिक जग्गा दिन सहमत नभएपछि त्यो योजना रकम अन्यत्रै हाल्ने सोच्दै थियौं ।’

सडकका लागि रकम विनियोजन भए पनि १० महिनासम्म स्थानीय बासिन्दा तयार थिएनन् तर अनशनपछि सहमतिमा आएको उनले बताए । वडाअध्यक्ष भट्टका अनुसार उक्त सडक खनिएपछि गाउँका धेरै उत्पादन बजारसम्म पु¥याउन सकिने र त्यस क्षेत्रमा क्रसर उद्योगको सम्भावना भएकाले उद्योग स्थापना गरी युवालाई रोजगार दिन सकिनेछ ।
गाउँमा सडक पुगेपछि आफूहरूलाई बजारबाट दैनिक उपभोग्य वस्तु घरमा ल्याउन र कृषकले उत्पादन गरेको तरकारी फलफूल बिक्रीका लागि बजारसम्म पु¥याउन सजिलो भइरहेको स्थानीय शेरबहादुर पाण्डेयले बताए ।राजधानी दैनिक